नेपालगञ्जमा सार्वजनिक भयो जेसीबी एग्रीम्याक्स

नेपालगञ्ज । एम.ए.डब्लु. अर्थमुभर्स प्रालिले नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक गरेको छ । पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रम आयोजना गरी नयाँ मेसिन सार्वजनिक गरेको हो ।

नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको सहभागितामा जेसीबी एग्रीम्याक्स सार्वजनिक गरिएकाे हाे ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, बाँके अध्यक्ष लीलाराज उपाध्याय, बर्दिया वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एम‍. ए. डब्लु. अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा एग्रीम्याक्स सार्वजनिक गरेका हुन् ।

जेसीबी एग्रीम्याक्स सामग्री ओसारपसार तथा ह्यान्डलिङका लागि तयार पारिएको बहुउपयोगी मेसिन हो । यसमा बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्पलगायतका एट्याचमेन्ट जडान गर्न सकिन्छ । त्यसैले कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर उद्योग, ढुंगा, गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योगमा यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै, प्लान्ट एन्ड हायर व्यवसायका लागि पनि यो उपयोगी हुने कम्पनीले जनाएको छ ।

कार्यक्रममा एग्रीम्याक्ससँगै जेसीबी ३ डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्साभेटर र जेसीबी जेनेरेटरसमेत प्रदर्शन गरिएको थियो । यी मेसिनले निर्माण, अर्थमुभिङ तथा विद्युत् उत्पादन क्षेत्रका लागि कम्पनीका विभिन्न उत्पादन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवसरमा १० जना ग्राहकलाई जेसीबीका विभिन्न मेसिन हस्तान्तरण गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए ।

कम्पनीले यस कार्यक्रममार्फत पश्चिम नेपालमा आफ्नो बजार विस्तारसँगै ग्राहक तथा व्यावसायिक साझेदारसँगको सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।


Back_to_top