काठमाडौं । बीएमडब्लू मोटोराडले भारतीय बजारमा आफ्नो एड्भेन्चर मोटरसाइकल एफ ४५० जीएसको नयाँ स्पोर्ट भेरियन्ट सार्वजनिक गरेको छ । नयाँ भेरियन्टमा विशेष रेसिङ रेड कलर दिइएको छ, जसले मोटरसाइकललाई थप स्पोर्टी लुक्स प्रदान गरेको छ ।
यसअघि भारतीय बजारमा एफ ४५० जीएस बेस, एक्सक्लुसिभ र जीएस ट्रफी गरी तीन भेरियन्टमा उपलब्ध थियो । नयाँ स्पोर्ट भेरियन्ट थपिएसँगै यसको लाइनअप चार भेरियन्ट पुगेको छ ।
एफ ४५० जीएस स्पोर्टमा स्पोर्ट सस्पेन्सन, गियर सिफ्ट असिस्टेन्ट प्रो र राइडिङ मोड्स प्रो दिइएको छ । त्यस्तै, अफरोड फुटरेस्ट, क्लियर र्याली विन्डस्क्रिन, कालो ह्यान्ड प्रोटेक्टर र प्लास्टिक इन्जिन गार्ड पनि यसका विशेषता हुन् ।
फिचरका हिसाबले यो भेरियन्ट जीएस ट्रफीसँग धेरै हदसम्म समान छ । तर, यसमा ईजी राइड क्लच (ईआरसी) उपलब्ध छैन। ईआरसी सुविधा नचाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ स्पोर्ट भेरियन्ट ल्याएको हो ।
यसको एक्स-शोरुम मूल्य ५ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ ।
बीएमडब्लूले गत अप्रिलमा एफ ४५० जीएस सार्वजनिक गर्दा बेस भेरियन्टको मूल्य ४ लाख ७० हजार, एक्सक्लुसिभको ४ लाख ९० हजार र जीएस ट्रफीको ५ लाख ३० हजार भारतीय रुपैयाँ तोकेको थियो । अहिले भने यसको मूल्य बढाइएको छ । हाल बेस भेरियन्टकै मूल्य ५ लाख ३५ हजार भारतीय रुपैयाँबाट सुरु हुन्छ ।

