विद्युतीय गाडी गुड्दा गुड्दै बिग्रिएको खण्डमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने बहस विभिन्न स्थानमा हुने गरेको छ । तर, त्यहाँ हुने चर्चा कति सत्य हुन् भन्ने कुरा सबैले छुट्टाउन सक्दैनन् ।
नेपालमा विद्युतीय सवारीसाधनको संख्या ७० हजार आसपास पुग्न लागिसकेको छ । त्यसमा दुई पाङ्ग्रे साधन पनि जोड्ने हो भने संख्या १ लाख माथि पुग्छ । त्यसैले गुड्दा गुड्दै आफ्नो विद्युतीय साधन बिग्रिएको खण्डमा के गर्ने वा नगर्ने भन्ने विषयमा हामीले यहाँ चर्चा गर्न खोजेका छौं ।
पेट्रोल वा डिजेल गाडी बिग्रिएको खण्डमा गियरबक्सलाई न्युट्रलमा राखेर तान्न सकिन्छ । तर, धेरै ईभीमा मोटर र ड्राइभ ह्वीलबीच स्थायी मेकानिकल सम्बन्ध हुने भएकोले तान्न मिल्दैन । त्यसको मुख्य कारण तान्दा गाडी बन्द भए पनि ड्राइभ ह्वील घुम्दा मोटरले जेनेरेटरजस्तै विद्युत् उत्पादन गर्ने भएर हो ।
यसरी उत्पादन भएको विद्युत् गाडीको सिस्टमले सुरक्षीत रूपमा व्यवस्थापन गर्न सक्दैन । त्यसैले मोटर, इन्भर्टर वा अन्य पावर इलेक्ट्रोनिक्समा क्षति पुग्ने सम्भावना धेरै हुन्छ ।
त्यसैले ईभीलाई डोरी बाँधेर अर्को गाडीको सहायताले लामो दूरीसम्म तान्नु हुँदैन । सबैभन्दा सुरक्षित तरिका भनेको ‘फ्ल्याटबेड टो ट्रक’मा राखेर लैजानु हो ।
तान्दा कुन-कुन पाट्र्समा असर पर्छ ?
सबैभन्दा पहिलो असर इलेक्ट्रिक मोटरमा पर्न सक्छ । इलेक्ट्रीक मोटर नै बिग्रिएर फेर्नु परेको खण्डमा नेपालमा ५ देखि ६ महिनासम्म लाग्न सक्छ । लामो समय गाडी नहुँदा तपाईको ट्याक्सी लगायतका साधनमा गर्ने खर्च पनि बढ्नेछ ।
अर्को इन्भर्टर र मोटर कन्ट्रोलर बिग्रिन सक्छ । अनियन्त्रित विद्युत् उत्पादन वा भोल्टेजका कारण यी पार्ट्स बिग्रिए आर्थिक क्षती ठूलो हुन सक्छ ।
ड्राइभिङ सिस्टम र रिडक्सन गियरमा पनि क्षती पुग्छ । गलत तरिकाले घिसार्दा वा टोइङ गर्दा मेकानिकल क्षती हुने गरेको छ ।
सबैभन्दा महंगो मूल्यको हाई भोल्टेज ब्याट्री सिस्टममै पनि खराबी आउन सक्छ । तर, सबै अबस्थामा यी सबै पार्ट्स एकै पटक खराब हुन्छन् भन्ने होइन ।
माथि उल्लेख भएका पार्ट्सको अलवा पार्किङ लक र इलेक्ट्रोनिक पार्किङ ब्रेकमा पनि समस्या आउन सक्छ ।
बिग्रिएका पाट्र्स बनाउन कति खर्च लाग्छ ?
ईभी तान्दा क्षति भएको अवस्थामा मर्मत खर्च गाडीको ब्रान्ड, मोडल, पाट्र्सको उपलब्धता र कति पार्ट्स बिग्रिए भन्ने कुरामा भर पर्छ । त्यसैले सामान्य इलेक्ट्रिकल समस्या वा सेन्सर बिग्रिएको भए थोरै खर्च लाग्छ । होइन, मोटर कन्ट्रोलर, इन्भर्टर वा हाइ भोल्टेज ब्याट्री नै बिग्रिएको खण्डमा धेरै खर्च आउँछ ।
त्यसोभए बीच बाटोमा ईभी बिग्रिए के गर्ने ?
सबैभन्दा पहिला गाडी सुरक्षित ठाउँमा रोक्ने । सम्भव भए सडकको किनार वा सुरक्षित पार्किङ क्षेत्रमा लैजाने ।
त्यसपछि समस्या पहिचान गर्न कोशिस गर्ने । ब्याट्री सकिएको हो, टायर पन्चर भएको हो, १२ भोल्टको ब्याट्रीमा समस्या आएको हो वा सिस्टममै केही चेतावनी देखाइरहेको छ एकिन गर्ने ।
कुनै सुचना भए त्यही अनुसार गर्ने । नभए अधिकृत सर्भिस सेन्टरमा कल गर्ने र उनिहरुको सहयोग माग्ने । उनिहरुको निर्देशन अनुसार काम गर्ने ।
ईभी बिग्रिँदा के नगर्ने?
डोरी बाँधेर हतारमा नतान्ने । विशेषगरी ड्राइभ ह्विल सडकमा घुम्ने गरी लामो दूरीसम्म तान्नै हुँदैन ।
हाई भोल्टेज तार वा ब्याट्री नछुने । सुन्तला रङका हाई भोल्टेज तार, ब्याट्री प्याक वा क्षतिग्रस्त विद्युतीय पाट्र्स आफैँ खोल्ने प्रयास गर्नु हुँदैन ।
गाडीमा धुवाँ, असामान्य ताप, गन्ध, ब्याट्रीमा क्षति वा हाई भोल्टेज चेतावनी छ भने चार्जिङमा जोड्ने तथा पुनः स्टार्ट गर्ने प्रयास गर्नु हुँदैन ।

