काठमाडौं । चीनका प्रमुख अटोमोबाइल ब्राण्ड बीच ५ मिटरभन्दा लामा एसयूभी बनाउने तीव्र प्रतिस्पर्धा चलेको छ । मुख्य गरी उत्पादहकरुले बजारमा ल्याउने नयाँ मोडलमा ठूलो साइजका गाडीलाई प्राथमिकतामा राखेका हुन् ।
सन् २०२६ का पहिलो १० महिनामा कम्पनीलेहरूले कुल १२९ वटा नयाँ मोडल बजारमा ल्याएका छन् । तीमध्ये ५६ प्रतिशत नयाँ एसयूभी मोडलहरू ५ देखि ५.५ मिटर लम्बाइका रहेका छन् । जबकि, सन् २०२४ मा ५ देखि ५.५ मिटर लामा एसयूभीहरूको हिस्सा १७ प्रतिशत मात्र थियो ।
न्यू इनर्जी भेहिकलमा पनि गाडीको आकार बढाउने लहर देखिएको छ । ५ मिटरभन्दा लामा विद्युतीय गाडीहरूको हिस्सा सन् २०२४ को ३४ प्रतिशतबाट बढेर अहिले ५८ प्रतिशत पुगेको छ । अर्कोतर्फ, ४.५ देखि ५ मिटर लम्बाइका मझौला मोडलहरूको हिस्सा भने ५५ प्रतिशतबाट घटेर ४० प्रतिशतमा झरेको छ ।
चीनका प्रमुख ब्राण्डहरू बीवाइडी, चेरी, लीपमोटर, एक्सपेङ, लि अटो, हुवावे, नियो, एक्सपेङ, जिकर लगायतले यो वर्ष ५ मिटर लामा एसयूभी बजारमा ल्याएका हुन् ।
चाइना प्यासेन्जर कार एसोसिएसनका महासचिव चुई दोङ्सु अटो कम्पनीहरू नयाँ प्यासेन्जर कार उत्पादन ठूला आकारतर्फ ढल्किरहेको बताउँछन् । उनका अनुसार तीव्र मूल्य प्रतिस्पर्धाका कारण अटो निर्माताहरू आफ्ना गाडीका विकल्पहरू विस्तार गर्न बाध्य भएका छन् । यस्तो अवस्थामा ठूला एसयूभी र एमपीभीहरू नयाँ प्रविधि प्रदर्शन गर्ने र मुनाफादर जोगाउने महत्त्वपूर्ण माध्यम बनिरहेका छन् ।
मुख्य गरी ईभीमा लामो दूरीको रेन्ज दिन ठूलो क्षमताको ब्याट्री प्याक राख्नुपर्ने हुन्छ । ५ मिटर वा सोभन्दा लामा गाडीहरूमा ठूला ब्याट्री प्याक सजिलै फिट गर्न सकिन्छ । जसले गर्दा कम्पनीहरूले पछिल्लाे समय धेरै रेन्ज दिने गाडी ल्याइरहेका हुन् ।
त्यस्तै, आजकलका नयाँ गाडीहरूमा लेभल २/३ एडास लाइडर, ट्रिपल स्क्रिन र एयर सस्पेन्सन जस्ता प्रविधिहरू राखिन्छन् । यी सबै अत्याधुनिक सफ्टवेयर र हार्डवेयर कम्पोनेन्टहरू सहज रूपमा अटाउन र प्रदर्शन गर्न ठूलो आकारको गाडी नै उपयुक्त हुन्छ ।
साथै, चीन सरकारले साना विद्युतीय गाडीमा दिँदै आएको अनुदान कटौती गर्नु र उत्पादन लागत बढ्नाले उत्पादकहरूले सानाभन्दा ठूला गाडी उत्पादनमा जोड दिएका हुन् ।
बढ्दो तौलप्रति भने चिन्ता
अटो उत्पादक बीच ठूला गाडी ल्याउने होड चलिरहँदा केहीले भने गाडीको बढ्दो तौलप्रति चिन्ता व्यक्त गरेका छन् । गाडीहरूको आकार र ब्याट्री क्षमतासँगै तौल पनि अत्यधिक बढेपछि उद्योगभित्र नयाँ बहस नै सुरू भएको छ ।
विद्युतीय कार निर्माता कम्पनी ‘नियो’का अध्यक्ष तथा सीईओ विलियम लीले गाडीहरू दिनानुदिन भारी हुँदै जाँदा सडक संरचनामा नकारात्मक असर परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यद्यपि, कार एसोसिएसनका महासचिव चुईले भने चीनमा कार स्वामित्वको दायरा अझै विस्तार हुन बाँकी रहेको उल्लेख गर्दै साना र किफायती गाडीहरूको मागलाई बेवास्ता गर्न नहुने बताउँछन् । उनले सर्वसाधारणका लागि उपयोगी हुने साना तथा माइक्रो इलेक्ट्रिक सवारी साधनलाई प्रोत्साहन गर्ने नीति ल्याउन सुझाव दिएका छन् ।

