चीनबाट नेपाल हिँडे हाइगरका २४ वटा इलेक्ट्रीक बस

काठमाडौं । हाइगर ब्राण्डका २४ युनिट इलेक्ट्रीक बस चीनबाट नेपालका लागि प्रस्थान गरेका छन् । नेपालका लागि हाइगरको आधिकारिक बिक्रेता शशिला मोटर्सले ती बस ल्याउन लागेको हो ।

शशिला मोटर्सका म्यानेजिङ डाइरेक्टर सन्तोष खतिवडाले यातायात व्यवसायीहरूको माग र अपेक्षालाई सम्बोधन गर्दै हाइगरका इलेक्ट्रीक बस नेपाल ल्याउन लागिएको जानकारी दिए । उनका अनुसार चीनबाट प्रस्थान गरेका इलेक्ट्रीक बस चाँडै नेपाल आइपुग्ने छन् ।

नेपाल आउने क्रममा रहेका बसहरू व्यवसायीको आवश्यकता अनुसार तयार गरिएको उनको भनाइ छ । हाइगरका विद्युतीय बसले नेपालको सार्वजनिक यातायात तथा यात्रु आवागमनको क्षेत्रमा एउटा नयाँ अध्यायको सुरूवात गर्ने उनको विश्वास छ ।

‘अब छिट्टै नेपाली सडकहरूमा हाइगरका सिटी बसहरू गुड्नेछन् र नेपालको सार्वजनिक यातायात तथा यात्रु आवागमनको क्षेत्रमा एउटा नयाँ अध्यायको सुरुवात हुनेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने ।

खतिवडाका अनुसार हाइगरका बस तथा कोच विश्वका करिब १२७ देशमा बिक्री वितरण हुँदै आएका छन् । अष्ट्रेलिया जस्तो सम्पन्न देशदेखि प्रमुख तेल उत्पादक यूएईमा समेत हाइगरका इलेक्ट्रीक सिटी बस तथा कोच संचालनमा रहेको उनको भनाइ छ ।

कम्पनीले आयात गरेका बसको स्पेसिफिकेसन बारे भने केही खुलाएको छैन । यी बस नेपाली सडकमा संचालनमा आएपछि सार्वजनिक यातायातको विद्युतीकरणमा थप योगदान पुग्ने अपेक्षा छ ।


Back_to_top