काठमाडौं । नयाँ पुस्ताको हुन्डाई क्रेटाको इन्टेरियर व्यापक परिवर्तन भएर आउने भएको छ । हालकोभन्दा ठूलो साइज, आधुनिक फिचरसहित आउने नयाँ क्रेटाको क्याबिनमा पनि ठूलो परिवर्तन देखिने भएको हो ।
हालै परीक्षणको क्रममा बाहिरिएको स्पाइ तस्बिर/भिडियो अनुसार नयाँ क्रेटाको इन्टेरियरमा धेरै नयाँपन देखिन्छ । यसमा नयाँ स्टेयरिङ ह्वील, प्लिओस इन्फोटेनमेन्ट स्क्रीन, नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ ।
नयाँ क्रेटामा ठूलो सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन, पातलो तथा तेर्सो आकारको ड्राइभर इन्स्ट्रुमेन्ट क्लस्टर राखिएको छ । जुन नयाँ क्रेटाको मुख्य आकर्षण हो । त्यस्तै, हुन्डाईले नयाँ क्रेटामा हाल प्रयोग भइरहेकोभन्दा उन्नत प्लिओस प्रणालीको सफ्टवेयर उपलब्ध गराएको छ ।
इन्टेरियरमा अफ ह्वाइट र ग्रे जस्ता हल्का रङको प्रयोग गरिएको छ । यही रङ संयोजन सिटको अपहोल्स्ट्री र ढोकाको ट्रिममा पनि देख्न सकिन्छ। सेन्टर कन्सोलमा पनि समान रङ प्रयोग गरिएको छ । यसमा अगाडिका यात्रुका लागि सेन्टर आर्मरेस्ट र एकपछि अर्को गरी राखिएका दुईवटा कप होल्डर उपलब्ध हुनेछन्। यी कप होल्डर आवश्यकताअनुसार मिलाउन सकिने सम्भावना छ ।
सेन्टर कन्सोल र ढोकाको ट्रिममा आकर्षक रेखात्मक डिजाइन पनि देख्न सकिन्छ । नयाँ क्रेटाका दुवै अगाडिका सिट विद्युतीय रूपमा समायोजन गर्न सकिने हुनेछन् । सहचालकको सिट पनि विद्युतीय रूपमा संचालन हुने भएकाले यसमा इलेक्ट्रीक बोस मोडसमेत उपलब्ध हुनेछ । हाल क्रेटा इलेक्ट्रीक र अल्काजारमा पनि यो सुविधा उपलब्ध छ ।
पछाडि बस्ने यात्रुहरूको सहजताका लागि कप होल्डर सहितको सेन्टर आर्मरेस्ट, एसी भेन्ट, थपिएको लेगरूम र वायरलेस चार्जिङको सुविधा पनि दिइएको छ।
नयाँ पुस्ताको क्रेटामा अगाडि र पछाडि दुवैतर्फ भेन्टिलेटेड सिट, पूर्ण एलईडी लाइटिङ, ठूलो आकारका ज्यामितीय डिजाइनका पाङ्ग्रा र क्ल्यामशेल बोनट उपलब्ध हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, चारवटै ढोकाका सिसामा अटो अपरडाउन सुविधा, उन्नत टेलिमेटिक्स प्रणाली, लेभल–२ प्रो एडीएएस, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट अलर्ट, पछाडिका सिटलाई ढल्काउन मिल्ने सुविधा र ठूलो बुट स्पेस उपलब्ध हुन सक्नेछ ।
नयाँ क्रेटामा कियाको नयाँ सेल्टोसमा प्रयोग गरिएको ग्लोबल के३ प्लेटफर्म पनि प्रयोग हुने अपेक्षा गरिएको छ ।
नयाँ पुस्ताको क्रेटामा पावरट्रेन भने हालकै निरन्तरता पाउने देखिन्छ । नयाँ क्रेटामा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल, १.५ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन रहने छन् । यी इन्जिनसँग ६ स्पीड म्यानुअल, आईभीटी र ७ स्पीड डीसीटी गियरबक्स उपलब्ध हुने अपेक्षा गरिएको छ ।
नयाँ क्रेटा स्ट्रङ हाइब्रिड पावरट्रेन पनि उपलब्ध हुने सम्भावना छ । यो विकल्प गाडी सार्वजनिक गर्दाकै समयमा वा पछि बजारमा ल्याउन सक्नेछ ।
कम्पनीले आधिकारिक जानकारी नदिए पनि नयाँ क्रेटा सन् २०२७ मा बजारमा आउने अनुमान छ ।

