कहिले डर, कहिले रोमाञ्चक : आइकार भी २३ मा पाँच दिन, १४०० किमी यात्रा

काठमाडौं । पहाडका साँघुरा सडक, ठाउँठाउँमा खसेका पहिरो, वर्षाले बगाएका बाटा, ढुंगा र हिलोले भरिएका उकालो-ओरालो । कतै कालोपत्रे सडक, कतै ग्राभेल, त कतै गाडी गुड्छ कि गुड्दैन भन्ने आशंका लाग्ने कच्ची बाटो ।

यस्तो सडकमा विद्युतीय गाडी लिएर यात्रा गर्दा मनमा अनेक प्रश्न उठ्नु स्वाभाविक थियो । गाडीले बाटो काट्ला कि नकाट्ला ? ब्याट्रीले साथ देला कि नदेला ? कतै बीच बाटोमै अलपत्र परिने त होइन ? आदि, इत्यादि ।

काठमाडौंको सहरी क्षेत्रमा बसेर पहाडी यात्राको अनुमान गर्नु र आफैँ स्टेयरिङ समातेर त्यहाँ पुग्नु निश्चय नै फरक अनुभव थियो । यही अनुभव बटुल्ने उद्देश्यले तिहार बिदामा आइकार भी २३ लिएर करिब १ हजार ४०० किलोमिटर लामो यात्रामा निस्कने निर्णय गरेँ । यात्रामा एक जना साथ लानु पर्ने थियो । आफ्नै धर्मपत्नीलाई अफर गरेँ । उनी जान तयार भइन् ।

यसलाई केवल एउटा गाडीमा गरिएको यात्रामा सीमित गर्नु थिएन । हाम्रो सडकको अवस्था, विद्युतीय गाडीको क्षमता, ब्याट्रीको पर्फमेन्स र आफ्नो आत्मविश्वास समेत परीक्षण गर्ने अवसर थियो । यात्राको अन्त्यसम्म आइपुग्दा धेरै प्रश्नको जवाफ भेटियो । केही अपेक्षाभन्दा राम्रा अनुभव मिले भने केही ठाउँमा प्रकृतिले निम्त्याएको संकटसँग जुध्नु पर्यो ।

पहिलो दिन : काठमाडौं-पोखरा-बुर्तिबाङ

काठमाडौंको घरबाट निस्कँदा गाडीमा ८७ प्रतिशत चार्ज थियो । पहिलो दिनको गन्तव्य थियो बागलुङको बुर्तिबाङ । घरबाट बुर्तिबाङको दूरी करिब ३९६ किलोमिटर भएकाले बीचमा पोखरामा चार्ज थप्ने योजना बनाएको थिएँ ।

तिहारको दोस्रो दिन, शनिबार र बिहान ६ बजे यात्रा सुरू भएकाले सडकमा ट्राफिकको चाप खासै थिएन । काठमाडौं छाडेर पृथ्वी राजमार्ग हुँदै पोखरातर्फ लाग्दा यात्राको सुरूवात निकै सहज रह्यो । करिब पाँच घण्टामा पोखरा पुगियो ।

पोखरा पुग्दा गाडीमा ४१ प्रतिशत चार्ज बाँकी थियो । त्यहाँ रहेको ओमोडा, जेको र आइकारको आधिकारिक बिक्रेता इलाइट मोटर्समा गाडी चार्जमा राखेर खाना खायौं । खाना खाएर फर्किंदा गाडी ९८ प्रतिशत चार्ज भइसकेको रहेछ ।

त्यसपछि बुर्तिबाङतर्फको यात्रा सुरू भयो । पोखराबाट बागलुङ बजारसम्मको सडक समग्रमा ठीकै थियो । ठाउँठाउँमा सडक बिग्रिएको भए पनि पहाडी राजमार्गमा सामान्य मानिने अवस्थाकै थियो । तर, बागलुङ बजार कटेपछि सडकको चरित्र बदलियो । गलकोट बजारसम्मको बाटो कच्ची थियो । धेरै ठाउँमा ग्राभेल भए पनि वर्षाले बगाएर सडकको अवस्था बिगारेको थियो ।

गलकोट कटेपछि भने अवस्था केही सहज बन्यो । बुर्तिबाङ बजारभन्दा करिब २ किलोमिटर पछाडिसम्म मध्यपहाडी लोकमार्गको अवस्था सन्तोषजनक थियो ।

बेलुका साढे ५ बजे बुर्तिबाङ पुग्दा पहिलो दिनको यात्रा सफलतापूर्वक पूरा भएको अनुभूति भयो । होटल दरबारमा पुगेर दिनको यात्रा टुङ्ग्यौं । पोखराबाट बुर्तिबाङसम्म आइपुग्दा आइकार भी २३ ले ६१ प्रतिशत ब्याट्री खपत गरेको रहेछ ।

दोस्रो दिन : ढोरपाटनको बाटो र एउटा व्यावहारिक निर्णय

दोस्रो दिन बिहान होटल दरबारमै २.२ किलोवाट क्षमताको ट्राभल चार्जर प्रयोग गरेर गाडी चार्जमा राखेँ । त्यस दिनको गन्तव्य ढोरपाटन थियो । तर, त्यहाँसम्मको यात्रा आइकारमा गर्ने योजना बनाएनौं । महिन्द्रा बोलेरो क्याम्पर लिएर ढोरपाटनतर्फ लागियो ।

सबै किसिमका सडकमा ईभी जबर्जस्ती चलाउनु हुँदैन भन्ने कुरामा म प्रष्ट थिएँ । त्यसैले पूर्वाधार तयार नभएका ठाउँमा गाडीको क्षमता परीक्षण गर्ने जोखिम नमोल्ने निर्णय लिएको थिए । त्यो निर्णय ढोरपाटनको माथिल्लो भेगमा पुग्दा सही गरेँ भन्ने लाग्यो ।

तेस्रो दिन : जब आइकार भी २३ को वास्तविक परीक्षा सुरू भयो

तेस्रो दिन थप पहाडी सडकको अनुभव लिने निधो गरेँ । गन्तव्य थियो प्यूठानको स्वर्गद्वारी । गुगल म्यापले दुईवटा बाटो देखाएको थियो । एउटा रोल्पा हुँदै र अर्को गुल्मी हुँदै । गुल्मीको बाटो छोटो देखिएकाले त्यही रोजेँ ।

तर गुल्मीका साथीहरूले तम्घास हुँदै स्वर्गद्वारी जाने निर्णय नगर्न सुझाव दिएका थिए । उनीहरूको सुझावलाई बेवास्ता गरेर छोटो बाटो रोज्नु यात्राको सबैभन्दा चुनौतीपूर्ण निर्णय बन्नेछ भन्ने त्यतिबेला अनुमान थिएन ।

बिहान ८ बजे बुर्तिबाङबाट गाडी निकालियो । इन्द्रगौँडादेखि चाल्दीखोलासम्मको सडक निकै जीर्ण रहेछ । वरिपरि घना जंगल, सडकमा गाडीको आवतजावत निकै कम र बिग्रिएको बाटो । यस्तो सडकमा गाडी चलाउँदा मनमा एउटा प्रश्न बारम्बार आइरहेको थियो, कतै टायरमा कट लाग्ने त होइन ? बीच बाटोमै पन्चर भयो भने के गर्ने ?

आफूसँगै अर्को गाडी थिएन । नजिकै कुनै वर्कसप वा बस्ती भेटिने सम्भावना पनि थिएन । सडकको अवस्था हेर्दा सामान्य टायर पन्चरसमेत ठूलो समस्या बन्थ्यो । मनमा डर थियो, तर अब फर्कन पनि सम्भव थिएन । अगाडि जे पर्छ, त्यही भोगौँला भन्दै यात्रा जारी राखेँ ।

चाल्दीखोलापछि भने कालोपत्र सडक भेटियो । त्यहाँबाट तम्घास पुग्दा केही राहत महसुस भयो । चाडपर्वको समय भएकाले बजारमा खासै चहलपहल थिएन । अधिकांश मानिस घरमै थिए र धेरै होटल पनि बन्द थिए ।

बिहानको ११ बजेको थियो । एउटा होटलमा खाना उपलब्ध रहेछ । खाना खाएपछि अब कुन बाटो समात्ने भन्ने विषयमा स्थानीयसँग सल्लाह गरेँ ।
उनीहरूले दुई विकल्प सुझाए । पहिलो सन्धिखर्क हुँदै जाने, जुन बाटो निकै लामो थियो । दोस्रो अर्खलेबाट जैसीथोक, भनभने हुँदै सौतामारे पुग्ने । दोस्रो बाटो छोटो भए पनि सडकको अवस्था मिश्रित थियो । कतै कालोपत्रे, कतै ढुंगा छापिएको र कतै माटोको सडक ।

सौतामारे पुगेपछि अर्को निर्णय लिनुपर्ने भयो । यो गुल्मी, अर्घाखाँची र प्यूठान तीन जिल्लाको संगमस्थल रहेछ । त्यहाँ रहेको अस्थायी प्रहरी चौकीमा गाडी रोकेर प्रहरीसँग बाटोको अवस्थाबारे जानकारी लिएँ ।

प्रहरीहरूले अर्घाखाँची हुँदै जाँदा केही छिटो पक्की सडक भेटिने र प्यूठानतर्फ लाग्दा लामो कच्ची बाटो पार गर्नुपर्ने बताए । प्यूठानतर्फबाट कहिलेकाहीँ बोलेरो आउने गरेको जानकारी पनि दिए । मेरो गाडी त्यहाँबाट जान सक्छ भन्ने उनीहरूको अनुमान थियो ।

त्यसपछि प्यूठानतर्फकै बाटो समात्ने निर्णय गरेँ ।

४२ किलोमिटरको परीक्षा : डर, धैर्य र आइकारको क्षमता

सौतामारेबाट प्यूठानतर्फ लागेपछि बल्ल आइकार भी २३ को वास्तविक परीक्षा सुरू भयो । यो बाटोमा गाडीको उच्च ग्राउण्ड क्लियरेन्सको महत्त्व बुझियो । कतिपय ठाउँमा सडकका ढुंगा र खाल्डा छिचोल्न निकै सावधानी अपनाउनुपथ्र्यो । गाडीको ‘स्लिपर मोड’ प्रयोग गर्ने अवस्था पनि पटकपटक आयो ।

सडकमा कतै ढुंगा थुप्रिएका थिए, कतै माटो र हिलो थियो । कतै सडक यति बिग्रिएको थियो कि गाडीको तल्लो भाग ठोक्किने हो कि भन्ने चिन्ता हुन्थ्यो । सामान्य अवस्थामा सजिलै पार गर्न सकिने दूरी यहाँ निकै धैर्य र सावधानीका साथ पूरा गर्नुपर्यो ।

सौतामारेदेखि बागदुल्लासम्मको करिब ४२ किलोमिटर सडक पार गर्नुपर्दा जीवनकै सबैभन्दा कठिन सडक यात्रामध्ये एकको अनुभव भयो ।

तर, यस यात्राको एउटा रोचक पक्ष पनि थियो । वरिपरी बस्ती थिएन, सडकमा अन्य गाडी पनि भेटिँदैनथे । कतिपय ठाउँमा गाडी रोकेर बाहिर हेर्दा सुनसान जंगल र उकालो-ओरालो सडकबाहेक केही देखिँदैनथ्यो । यस्तो ठाउँमा मोबाइल नेटवर्कले समेत साथ छाड्छ होला भन्ने लागेको थियो । तर, आश्चर्यजनक रूपमा एनसेलको नेटवर्क र डाटा भने मज्जाले चलिरहेको थियो ।

यस्तो निर्जन सडकमा गाडी चलाइरहँदा मनमा डर र उत्साह दुवै थिए । तर, गाडीले भने साथ छाडेन । कठिन बाटो पार गर्दै अगाडि बढिरह्यो ।

यो ४२ किलोमिटरको कठिन यात्रा पूरा गर्दा गाडीमा अझै ५५ प्रतिशत चार्ज बाँकी थियो । पक्की सडक भेटिएपछि मन केही हलुका भयो । अब स्वर्गद्वारी सोही दिन पुग्न सकिने देखियो ।

भिग्री बजारबाट स्वर्गद्वारी पुग्न करिब १५ किलोमिटरको ठाडो उकालो चढ्नुपर्ने थियो । त्यतिबेला गाडीमा करिब ४५ प्रतिशत चार्ज बाँकी थियो । साँझ ५ बजे स्वर्गद्वारी पुगियो ।

दिनभरको कठिन यात्रा, उकालो-ओरालो र बिग्रिएको सडक पार गरेपछि स्वर्गद्वारी पुग्दा छुट्टै सन्तुष्टि मिल्यो । केही समय त्यहाँ बिताएपछि दाङतर्फ लाग्ने निर्णय गरेँ । गाडीमा ३० प्रतिशत चार्ज बाँकी थियो ।

स्वर्गद्वारीबाट ओरालो झर्दा रिजनरेटिभ ब्रेकिङका कारण करिब ४ प्रतिशत चार्ज थपियो । पहाडी यात्रामा ओरालो सडकको यो एउटा व्यावहारिक फाइदा पनि हो ।

तर, ओरालो झर्दैमा सबै समस्या समाधान हुँदैनथे । दाङ पुग्नुअघि चार्जको व्यवस्थापन गर्नु आवश्यक थियो । प्यूठानको बनडाँडा पुग्दा गाडीमा २३ प्रतिशत चार्ज बाँकी थियो । अब भालुवाङ पुगेर चार्ज गर्नुपर्ने अवस्था बन्यो ।

त्यसैले घोराही जाने प्रारम्भिक योजना परिवर्तन गरेँ । भालुवाङस्थित पौवा होटलमै रात बिताउने र गाडी चार्ज गर्ने निर्णय गरेँ ।

यसरी तेस्रो दिनको यात्रा टुंगियो । त्यो दिनको यात्रा सम्झँदा अहिले पनि मनमा एकैपटक दुई अनुभूति आउँछन्, रोमाञ्चक र डर । तर, एउटा कुरा निश्चित थियो, सबैभन्दा अप्ठ्यारो सडकमा पनि आइकार भी २३ ले मलाई कतै धोका दिएन ।

चौथो दिन : दाङका सहरदेखि भैरहवाको तिहारसम्म

चौथो दिनको यात्रा तुलनात्मक रूपमा सहज थियो । घोराही, तुलसीपुर, देउखुरी र लमहीजस्ता चल्तीका सहरमा परिवारलाई घुमाउने योजना बनाएँ ।

अघिल्लो दिनको कठिन सडकसँग तुलना गर्दा यी क्षेत्रका सडक निकै सहज थिए । राम्रो सडक, सवारी साधनको सामान्य आवागमन र व्यवस्थित यात्रा । दिनभर विभिन्न स्थान घुमेपछि बेलुका भैरहवा पुगियो ।

भैरहवामा तिहारको रौनक बेग्लै थियो । सहरका सडक र घरहरू झिलिमिली बत्तीले सजिएका थिए । देउसी-भैलोको आवाजले वातावरणलाई अझ जीवन्त बनाएको थियो । पहाडका सुनसान सडकमा बिताएको अघिल्लो दिनको तुलनामा यहाँको चहलपहलले यात्रामा नयाँ ऊर्जा थप्यो ।

त्यहाँ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माको घरमा केही घण्टा बिताउने अवसर मिल्यो । यात्राको बीचमा भेटिएका आत्मियता र सम्बन्धहरूले लामो यात्रालाई थप स्मरणीय बनाउन सहयोग गर्यो ।

पाँचौँ दिन : ४ घण्टा ३० मिनेटमै भैरहवादेखि काठमाडौं

पाँचौँ दिनको यात्रा पनि उत्तिकै रोचक रह्यो । भैरहवाबाट काठमाडौं फर्कने योजना थियो । तर, यो यात्रामा एउटा सुखद संयोग पर्खिरहेको थियो । सडकमा सवारीसाधनको चाप निकै कम थियो ।

भैरहवाबाट नारायणगढतर्फको सडकका अधिकांश खण्डमा ८० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने थियो । सडक खाली भएकाले गाडीलाई क्रुज कन्ट्रोलमा राखेर यात्रा गर्न पाइयो । यति लामो दुरी क्रुज कन्ट्रोलको सहयोगमा मैले पहिलो पटक चलाएको थिए ।

करिब १ घण्टा ३१ मिनेटमै नारायणगढ पुगियो । त्यहाँबाट मुग्लिन पुग्न थप ३० मिनेट लाग्यो ।

मुग्लिनबाट काठमाडौंसम्मको करिब ११० किलोमिटर दूरी पनि सडक खाली भएकाले दुई घण्टा ३० मिनेटमै पूरा भयो । यसरी भैरहवाबाट काठमाडौं आइपुग्न जम्मा ४ घण्टा ३० मिनेट लाग्यो ।

भैरहवादेखि काठमाडौंसम्म यति छोटो समयमा यात्रा गर्न पाउनु मेरा लागि आफैँमा नौलो अनुभव थियो । भैरहवादेखि नारायणगढसम्मको राम्रो र उच्च गतिमा चलाउन सकिने सडक तथा नारायणगढबाट काठमाडौंसम्मको कम सवारी चापले यात्रा सहज बनाएको थियो ।

यात्राले सिकाएको कुरा

पाँच दिनको यो यात्रामा आइकार भी २३ लिएर करिब १ हजार ४०० किलोमिटर पहाडी तथा तराईका सडक छिचोल्दा गाडीका विषयमा मात्रै होइन, हाम्रो सडक पूर्वाधार र यात्राको वास्तविकता बारे पनि धेरै कुरा बुझ्ने अवसर मिल्यो ।

एउटै यात्रामा हामीले फरकफरक सडकको अनुभव गर्यौँ । कतै उच्च गतिमा गाडी चलाउन मिल्ने फराकिलो सडक थियो । कतै सामान्य पहाडी राजमार्ग र कतै गाडी लैजानुअघि दुईपटक सोच्नुपर्ने जीर्ण कच्ची बाटो । यस्तो विविधतामा विद्युतीय गाडी चलाउँदा यसको क्षमता मात्रै होइन, चालकको निर्णय क्षमता र तयारी पनि उत्तिकै महत्त्वपूर्ण हुँदो रहेछ ।

ब्याट्रीको व्यवस्थापन, चार्जिङको योजना, सडकको अवस्था र गन्तव्य बीचको दूरीको सही आँकलन भएमा यात्रा निकै रोचक हुने अनुभव मिल्यो ।

त्यस्तै, राम्रो ग्राउण्ड क्लियरेन्स, कठिन सडकमा गाडीको नियन्त्रण र ओरालोमा रिजनरेटिभ ब्रेकिङको उपयोगितालाई नजिकबाट अनुभव गर्न पाइयो ।

यो यात्रामा केही ठाउँमा डर लाग्यो, केही ठाउँमा सडक देखेर निराशा पनि भइयो । कतिपय मोडमा गाडीको टायर र तल्लो भागको चिन्ता लागिरह्यो । तर, त्यही कठिनाइ बीच नयाँ ठाउँ पुग्दाको खुसी, स्वर्गद्वारीको उकालो पार गर्दाको सन्तुष्टि, भैरहवाको तिहार र अन्तिम दिनको सहज राजमार्ग यात्राले यो अनुभवलाई अविस्मरणीय बनाइदियो ।

काठमाडौं फर्किंदा मनमा एउटै अनुभूति थियो, आइकार भी २३ सँगको १ हजार ४०० किलोमिटर यात्रा केवल दूरी पार गर्ने अनुभव थिएन, आफैँलाई, सडकलाई र गाडीलाई नयाँ ढंगले चिन्ने अवसर थियो ।

 


Back_to_top