काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले विद्युतीय माइक्रोबसहरूको सिट क्षमता, प्राविधिक मापदण्ड र रुट परमिट वितरणका विषयमा गम्भीर प्रश्न उठेको बताएका छन् ।
बिहीबार मकवानपुरको भीमफेदीमा ईभी माइक्रोबस दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएको थियो । त्यसपछि उनले सामाजिक संजाल फेसबुकमा आफ्नो धारण राख्दै माइक्रोबसको सिट परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा संचालन सम्बन्धी निर्णय माथि निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
उनले सुरूमा ९ सिट क्षमताका रूपमा स्वीकृति पाएका विद्युतीय माइक्रोबसलाई कुन आधारमा ११ सिट क्षमतामा परिवर्तन गरियो ? भन्दै सरकारी निकाय माथि प्रश्न गरेका छन् ।
‘सुरूमा ९ सिट क्षमताका रूपमा स्वीकृति पाएका सवारीसाधनलाई कुन प्राविधिक आधार, मापदण्ड र कानुनी प्रक्रियाबाट ११ सिट क्षमतामा परिवर्तन गरियो ? यात्रु सुरक्षालाई ध्यानमा राखेर सिट संख्या निर्धारण गरिएको हो कि अन्य कुनै स्वार्थ र दबाबमा यस्तो निर्णय गरियो ?,’ उनले प्रश्न गरेका छन् ।
यस विषयमा यातायात व्यवस्था विभाग, प्रदेश सरकार र यातायात कार्यालयहरूको पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको आरोप छ ।
उनले विद्यमान कानुनी व्यवस्था र मापदण्डले रात्रिकालीन सेवा संचालन, माइक्रोबसको रुट परमिट तथा प्राविधिक क्षमता सम्बन्धी विषयमा तोकेका सीमाभन्दा बाहिर गएर अनुमति दिइएको भए त्यसको जिम्मेवारी सम्बन्धित पदाधिकारीले लिनुपर्ने बताएका छन् ।
कानुन विपरीत परमिट वितरण भएको पाइएमा निर्णय गर्ने र कार्यान्वयन गराउने पदाधिकारीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
उनले विद्युतीय माइक्रोबसको प्राविधिक अवस्था, यात्रु क्षमता, ब्याट्री, ब्रेक प्रणाली र समग्र सुरक्षा मापदण्डको तत्काल परीक्षण तथा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
‘यातायात क्षेत्रको विकास भनेको सवारीसाधनको संख्या बढाउनु मात्र होइन, यात्रुको जीवन सुरक्षित बनाउनु पनि हो । राजस्वभन्दा नागरिकको जीवन ठूलो हो र परमिटभन्दा यात्रुको सुरक्षा ठूलो हो,’ उनले भनेका छन् ।

