बिगसले पूरा गर्यो १ लाख इलेक्ट्रीक स्कुटर बिक्रीको माइलस्टोन

काठमाडौं । भारतीय दुईपाँग्रे इलेक्ट्रीक ब्राण्ड बिगसले १ लाख युनिट स्कुटर बिक्रीको माइलस्टोन पूरा गरेको छ ।

सन् २०२२ अगस्टमा बजार प्रवेश गरेको कम्पनीले सन् २०२६ नोभेम्बर ९ सम्म कुल १ लाख ५९५ युनिट विद्युतीय स्कुटर बिक्री गरेको हो ।

सन् २०२६ मा मात्रै कम्पनीले ४१ हजार ८४९ युनिट स्कुटर बिक्री गरेको छ । यो कम्पनीको हालसम्मको कुल बिक्रीको ४२ प्रतिशत हो । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको बिक्री १०४ प्रतिशतले बढेको छ ।

बीगस सन् २०२५ मा भारतमा सर्वाधिक विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन बिक्री गर्ने ब्राण्ड मध्ये सातौँ स्थानमा रहेको थियो । सन् २०२६ मा पनि कम्पनी हरेक महिना शीर्ष १० ब्राण्ड भित्र रहँदै आएको छ।

लगातार चार महिनादेखि कम्पनीको मासिक बिक्री ५ हजार युनिटभन्दा माथि रहेको छ । सन् २०२६ जुलाईमा ५ हजार ५६० युनिट, अगस्टमा ५ हजार ४६ युनिट, सेप्टेम्बरमा ५ हजार २४ युनिट र अक्टोबरमा ५ हजार ५५६ युनिट स्कुटर बिक्री गरेको छ।

अक्टोबरदेखि वर्षको अन्तिम त्रैमासिक सुरू भएसँगै बीगसले पहिलोपटक वार्षिक ५० हजार युनिट बिक्रीको आँकडा पार गर्ने सम्भावना देखिएको छ । यद्यपि, हालको सातौँ/आठौँ स्थानबाट बिक्रीको वरीयता सुधार गर्न कम्पनीले लगातार हरेक महिना ७ हजारभन्दा बढी युनिट बिक्री गर्नुपर्ने हुन्छ।

हालै कम्पनीले आफ्नो सबैभन्दा क्षमतावान् र प्रिमियम स्कुटर सी १२ म्याक्स आर सार्वजनिक गरेको छ ।

बिगसका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएका छन् ।


Back_to_top