काठमाडौं । हेटौंडा-काठमाडौं आउजाउ गर्ने सबैभन्दा छोटो भीमफेदी-कुलेखानी-फाखेल वा सिस्नेरी सडकमा सार्वजनिक सवारी साधन संचालनका लागि समय सीमा निर्धारण गरिएको छ ।
सोमबार बसेको जिल्ला सुरक्षा समिति, मकवानपुरको बैठकले दुर्घटना न्यूनीकरणका लागि भन्दै नयाँ समय तोकेको हो ।
बैठकको निर्णय अनुसार हेटौंडा-काठमाडौं आउजाउ गर्ने सार्वजनिक सवारी भैंसे प्रहरी चेकपोस्टबाट बिहान ५ बजेपछि मात्र संचालन गर्न दिइनेछ । त्यस्तै, बिहान ५ः३० बजे चौकीटोल पार गर्नुपर्नेछ र साँझ ६ बजेसम्म भैंसे प्रहरी चेकपोस्ट पार गरिसकेको हुनुपर्छ ।
भैंसेदेखि देउरालीसम्मको सडक घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले सवारी दुर्घटना न्यूनीकरण गर्न राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ ।
गत बिहीबार भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले फर्पिङ चेकपोस्टबाट बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधनलाई हेटौंडातर्फ आउन रोक लगाएको थियो ।
त्यस्तै, बैठकले हेटौंडा–काठमाडौं रुटमा सञ्चालन हुने भाडाका यात्रुवाहक सवारी साधन र सार्वजनिक यातायात पूर्ण निरीक्षण पछि मात्र संचालन गर्न अनुमति दिन निर्देशन दिएको छ ।

