फैलिँदै ब्याट्री स्वाप टेक्नोलोजी, आर्कफक्सका दुई नयाँ ईभीमा पनि प्रयोग

काठमाडौं । चीनमा कार निर्मातादेखि ब्याट्री उत्पादकसम्मले ब्याट्री स्वाप टेक्नोलोजीलाई प्राथमिकतामा राख्न थालेका छन् । चिनियाँ स्टार्टअप कम्पनी नियोले सुरुदेखि नै प्रयोगमा ल्याएको यो टेक्नोलोजीमा बिस्तारै अन्य ब्राण्डहरु जाँदैछन् ।

पछिल्लो पटक बीएआईसी ग्रुपको स्वामित्वमा रहेको आर्कफक्सले पनि ब्याट्री स्वाप प्रविधिसहित दुई नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले ‘बीटा एस-३ र बीटा टी-१ मोडल बजारमा ल्याएको हो । यी दुबै मोडलमा ब्याट्री स्वाप गर्न सकिन्छ ।

आर्कफक्सले आफ्ना दुवै नयाँ कारमा सीएटीएलको ‘चकलेट ब्याट्री स्वापिङ नेटवर्क’ प्रयोग गरेको हो । आर्कफक्सले गत महिना सीएटीएलसँग साझेदारी गर्दै साझा ब्याट्री स्वापिङ प्रणाली विकास गर्ने घोषणा गरेको थियो ।

बीटा एस३ मा १५९ किलोवाट क्षमताको मोटर दिइएको छ । यसले २५० एनएम टर्क उत्पादन गर्छ । यसलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन ७.१ सेकेन्ड लाग्नेछ ।

बीटा एस-३ मोडलमा १९२ लाइन लिडार र जर्नी जे६एम चिपसहितको एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध छ । यसको ब्याट्री स्वाप गर्न ९९ सेकेन्ड मात्रै लाग्छ ।

त्यस्तै, बीटा टी१ अहिले बजारमा रहेको टी-१ मोडल नै हो । यसमा ९५ किलोवाटको मोटर र सीएटीएलको एलएफपी ब्याट्री पाउन सकिन्छ ।

आर्कफक्सले चिनियाँ उपभोक्तालाई बीटा एस-३ मा २० वटा ब्याट्री स्वाप भौचर अर्थात् १० हजार किलोमिटर बराबरको निःशुल्क स्वाप सुविधा दिने घोषणा गरेको छ ।


Back_to_top