काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले नयाँ पुस्ताको क्रेटा इलेक्ट्रीक एसयूभीको सडक परीक्षण सुरू गरेको छ ।कम्पनीले सन् २०२७ भित्रै बजारमा ल्याउने नयाँ क्रेटा इलेक्ट्रीक पहिलोपटक परीक्षणका क्रममा देखिएको हो ।
हालै सार्वजनिक भएका स्पाइ तस्बिरहरूले नयाँ क्रेटा ईभीका केही महत्वपूर्ण फिचरहरू खुलाएका छन् । नयाँ क्रेटा ईभीको डिजाइन विश्व बजारमा उपलब्ध नयाँ टक्सन र प्यालिसेड लगायत हुन्डाईका एसयूभीबाट प्रभावित हुनेछ । यसमा नयाँ आयताकार ग्रिल, स्प्लिट हेडलाइट सेटअप, बाहिर ननिस्कने प्रकारका रूफ रेल, नयाँ डिजाइनका एलोय ह्विल र नयाँ एलईडी टेललाइट दिइनेछ।
नयाँ पुस्ताको क्रेटा ईभीको इन्टेरियर भने पूर्ण रूपमा नयाँ हुनेछ । यसमा मोर्स कोडसहितको नयाँ टु स्पोक स्टेयरिङ ह्वील र ठूलो आयताकार आकारको इन्फोटेनमेन्ट प्रणाली दिइनेछ । यसमा हुन्डाईको पछिल्लो प्लियोस कनेक्ट इन्फोटेनमेन्ट प्रणाली रहनेछ । यो प्रणाली चाँडै भारतमा लन्च हुने हुन्डाई आयोनिक पी इलेक्ट्रिक कम्प्याक्ट एसयूभीमा समेत प्रयोग हुनेछ ।
नयाँ क्रेटा ईभीमा हालको जस्तो दुईवटा स्क्रीनको हटाएर छुट्टाछुट्टै डिस्प्ले दिइने छ । यसको इन्फोटेनमेन्ट टचस्क्रीन १७ इन्चसम्मको हुने अनुमान गरिएको छ । त्यस्तै, इन्स्ट्रुमेन्ट क्लस्टर स्टेयरिङ ह्वीलको पछाडि राखिएको छ । जुन हेडअप डिस्प्ले जस्तै देखिन्छ ।
परीक्षणका क्रममा देखिएका तस्बिर अनुसार नयाँ क्रेटा ईभीमा अगाडिको यात्रु सिटका लागि बोस मोड फङ्सन, लेभल २ एडास प्रविधि, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, अगाडिका भेन्टिलेटेड र विद्युतीय रूपमा मिलाउन सकिने सिट लगायत सुविधा उपलब्ध हुनेछन् ।
दोस्रो पुस्ताको हुन्डाई क्रेटा इलक्ट्रिीकमा हालकै ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर क्षमताका ब्याट्री प्याक उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपि, अझ बढी रेन्ज दिनका लागि यी ब्याट्रीलाई परिमार्जन गरिने अनुमान पनि गरिएको छ । हुन्डाईले यसमा एकपटकको फुचार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने ठूलो ब्याट्री प्याकसमेत उपलब्ध गराउन सक्ने सम्भावना छ ।

