काठमाडौं । आधिकारिक बिक्रेता नै नियुक्त नभए पनि रेन्ज रोभरका १८ युनिट कार नेपाल आएका छन् । मूल्यका हिसाबले पनि ३ करोडदेखि ७ करोड रुपैयाँसम्म पर्ने ल्याण्ड रोभरका एसयूभी १८ युनिट आयात हुनु निकै ठूलो संख्या हो ।
ज्यागुअर÷ल्याण्ड रोभर (जेएलआर) ले उत्पादन गरेका रेन्ज रोभर (एल ४९४) को आयात ३ युनिट भएको छ । सन् २०२६ अप्रिलमा १ युनिट र जुन महिनमा २ युनिट आयात भएको देखिन्छ । यो आयात २०२६ जनवरीदेखि अक्टोबर १५ सम्मको तथ्यांकमा आधारित हो ।
त्यसैगरी, डिफेन्डर एसयूभीको आयात १३ युनिट भएको देखिन्छ । जनवरी २०२६ मा ५ युनिट आयात भएको डिफेन्डर जुन महिनामा ८ युनिट आयात भएको थियो । समग्रमा १३ युनिट डिफेन्डर चालु वर्षमा आयात भएको देखिन्छ ।
सन् २०२६ मा इभोक पनि २ युनिट आयात भएको छ । कम्पनीले मार्चमा १ युनिट र जुनमा १ युनिट इभोक नेपाल ल्याएको हो ।
माथिको आयात तथ्यांकले हाइब्रिड टेक्नोलोजीमा आधारित ज्यागुअर ल्याण्ड रोभरका एसयूभीमा नेपाली उपभोक्ताको रुची बढ्दै गएको देखिन्छ । आधिकारिक बिक्रेता र आधिकारिक सर्भिस बिना नै यो संख्यामा बिक्री हुनु निकै राम्रो हो ।
तर, नेपाल सरकारले आधिकारिक बिक्रेता नियुक्त नभइकन कुनै पनि ब्राण्डका गाडी नेपाल भित्र्याउन नपाउने नियमको भने यसरी भएको आयातले खिल्ली उडाइरहेको छ । साथै, भविष्यमा उपभोक्ताले पाउनु पर्ने सर्भिस र पार्टसको सुविधामा भने समस्या आउन सक्छ ।

