काठमाडौं । चाडपर्व सकिए । अब अंग्रेजी नयाँ वर्ष नजिकिएको छ । नेपालमा गाडी बिक्री गर्ने अधिकांश ब्राण्डले सन् २०२७ लागेसँगै नयाँ मोडल बजारमा उतार्ने गरी काम थालिसकेका छन् ।
सन् २०२७ को सुरूआतसँगै केही नयाँ ब्राण्ड प्रवेश गर्ने तयारीमा छन् । सन् २०२७ मा नेपाली बजारमा दुई ठूला ब्राण्ड नेपाल प्रवेश गर्ने पक्का भइसकेको छ । तर, अहिलेसम्म बिक्रेताको नाम आधिकारिक रूपमा घोषणा भइसकेको छैन ।
भियतनामी ब्राण्ड भिनफास्ट र चिनियाँ ब्राण्ड लेपास नेपाल आउने पक्का भएको हो । भिनफास्टले भारतमा उत्पादन गरेका विभिन्न मोडल नेपालमा बिक्री थाल्नेछ । अघिल्लो वर्षदेखि नै नेपाल आउने बताइए पनि भिनफास्ट अहिलेसम्म नेपाल आउन सकेको छैन ।
भिनफास्ट भियतनामको सबैभन्दा विद्युतीय सवारी ब्राण्ड हो । सन् २०१७ मा स्थापन भएको यो कम्पनीले २०१८ देखि उत्पादन थालेको थियो । कम्पनीले हाल इन्ट्री लेभलदेखि विलासी कार समेत उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न सेग्मेन्टमा १५ बढी मोडल उत्पादन गरिरहेको छ । भिनफास्टका भीएफ ३, भीएफ ५, भीएफ ७ लगायत मोडलका एसयूभी लोकप्रिय छन् । कम्पनीले एशिया, युरोप, उत्तर अमेरिकी देशहरूमा आक्रमक रूपमा बजार विस्तार गरिरहेको छ । कम्पनीले सन् २०२५ मा भारतको तमिलनाडु र इन्डोनेसियामा एसेम्बली प्लाण्ट संचालनमा ल्याएको छ ।

चेरी ग्रुप अन्तर्गतको लेपास भने विल्कुलै नयाँ ब्राण्ड हो । चीनमाभन्दा अन्य देशमा बिक्री गर्ने लक्ष्यसहित स्थापित लेपास ब्राण्ड पनि आगामी अप्रिलसम्ममा नेपाल आउने बताइएको छ ।
चेरी ग्रुप अन्तर्गतका ओमोडा/जेको, आइकार, चेरी क्यू, जेटोर लगायतका ब्राण्ड यसअघि नै नेपालमा उपलब्ध थियो । अब चेरी ग्रुपको अर्को नयाँ ब्राण्ड थपिन लागेको हो ।
लेपास चीन बाहिर बिक्री गर्ने गरी सन् २०२५ मार्चमा मात्रै भएको प्रिमियम ब्राण्ड हो । हाल यसका उत्पादन युरोप, दक्षिण पूवी एशिया, मध्यपूर्व, अफ्रिका र अष्ट्रेलिया जस्ता बजारहरूमा बिक्री भइरहेका छन् । कम्पनीले सन् २०२७ सम्ममा आफ्नो नेटवर्क विश्वका ४५ देशमा विस्तार गर्ने लक्ष्य राखेको छ ।
लेपासका गाडीहरू चेरीको आधुनिक एलईएक्स मोड्युलर प्लेटफर्ममा आधारित छन् । उक्त प्लेटफर्ममा प्योर ईभी, प्लग इन हाइब्रिड र पेट्रोल तीनवटै पावर ट्रेन विकल्प जडान गर्न सकिन्छ । कम्पनीले हाल एल ४, एल ६ र एल ८ मोडल बिक्री गर्दै आएको छ । निकट भविष्यमै थप नयाँ मोडल ल्याउने योजना बनाइरहेको छ ।
बजार हल्लामा भिनफास्ट र लेपास दुवै ब्राण्डको आधिकारिक बिक्रेता घोषणा भइसकेका छन् । तर, आधिकारिक रूपमा कसले नेपाल ल्याउन लागेका हुन् भन्ने घोषणा भएको छैन । पछिल्ला दिनमा आधिकारिक घोषणापछि पनि डिलरशिप अदलबदल भएका थुप्रै घटना बाहिर आएका छन् ।
जेहोस् सन् २०२७ को पहिलो ६ महिना भित्र नेपाली बजारमा भिनफास्ट र लेपासका उत्पादनको बिक्री सुरू हुनेछ । यी दुवै ब्राण्डले आकर्षक मूल्यका विद्युतीय कारहरू बजारमा ल्याउने अनुमान लगाउन सकिन्छ ।

