नयाँ अवतारमा देखियो भिनफास्ट भीएफ ५, नेपाल पनि आउने सम्भावना

काठमाडौं । भियतनामको ईभी निर्माता कम्पनी भिनफास्टले आफ्नो कम्प्याक्ट इलेक्ट्रीक एसयूभी भीएफ ५ को फेसलिफ्ट सार्वजनिक गरेको छ । सन् २०२२ मा पहिलो पटक आएको भीएफ ५ चार वर्षपछि व्यापक परिमार्जनसहित नयाँ अवतारमा आएको हो ।

नयाँ भीएफ ५ मा बाहिरी डिजाइन, इन्टेरियर र ब्याट्री क्षमतामा ठूलो परिवर्तन गरिएको छ । कम्पनीले यसलाई भारतमा पनि उत्पादन गर्ने भएको कारण नेपाल पनि आउने पक्का जस्तैछ ।

भिनफास्टका उत्पादन नेपाली बजारमा सन् २०२७ को पहिलो क्वाटरबाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।

नयाँ भीएफ ५ को डिजाइन पहिलेको तुलनामा बढी बक्सी र ठाडो बनाइएको छ । त्यसैले झट्ट हेर्दा पर्फेक्ट एसयूभीको झल्को आउँछ । यो ४ मिटरभन्दा छोटो एसयूभी भएको कारण पार्किङको समस्या भएका उपभोक्ताको लागि उपयुक्त मानिन्छ ।

अगाडि भिनफास्टको पहिचान झल्काउने क्रोम डिजाइन राखिएको छ । बीच भागमा भिनफास्टको लोगो देख्न सकिन्छ । बम्परमा हेडलाइट जडान गरिएको छ । अगाडिको भागमा ठाडो एयर इन्टेक र क्रोम फिनिसिङसहितको एयर ड्याम पनि देख्न सकिन्छ ।

साइड प्रोफाइलमा बडी क्ल्याडिङ, १७ इन्चको एरो अप्टिमाइज्ड अलोय ह्वील र फरक शैलीको विन्डो लाइन दिइएको छ । पछाडिको भागमा भने फुल विड्थ एलईडी लाइट बार, रियर स्पोइलर, इन्टिग्रेटेड स्टप ल्याम्प र ठूलो बम्पर क्ल्याडिङ प्रयोग भएको छ ।

इन्टेरियरमा पनि व्यापक परिवर्तन

नयाँ भीएफ ५ को इन्टेरियर पहिलेको तुलनामा सरल र आधुनिक बनाइएको छ । पुरानो मोडलमा रहेको एङ्गल्ड ड्यासबोर्डको सट्टा समथर र मिनिमलिस्टिक ड्यासबोर्ड दिइएको छ ।

यसमा पहिलेको ८ इन्चको इन्फोटेन्मेन्ट स्क्रिनलाई बढाएर १० इन्च बनाइएको छ । दुई स्पोक डिजाइनको नयाँ स्टेयरिङ ह्वील र सेन्ट्रल टचस्क्रिनमै गाडीले दिने सूचना उपलब्ध हुनेछ ।

स्टेयरिङ ह्वील पछाडिको दायाँपट्टि गियर नब दिइएको छ । सिटमा ड्युअल टोन फिनिसिङसहित लेदररेट अपहोल्स्ट्री प्रयोग गरिएको छ ।

नयाँ भीएफ ५ मा ४३ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसअघिको मोडलमा २९.६ किलोवाट आवर र ३७.२३ किलोवाट आवरको ब्याट्री थियो ।

फ्रन्ट ह्वील ड्राइभ भीएफ ५ मा ९९ हर्सपावर दिने मोटर छ । यसको पीकटर्क १३५ एनएम छ ।


Back_to_top