बीवाइडी विरुद्ध जेएलआरको दाबी पुगेन, उल्टै २५ हजार युरो तिर्नुपर्ने

काठमाडौं । ज्यागुआर ल्याण्ड रोभर (जेएलआर) ले चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीसँग दाबी गरेको ५ लाख युरो जरिवाना पाउन असफल भएको छ ।

नेदरल्यान्ड्सको जिल्ला अदालत हेगले बीवाइडीले प्रमाण संकलनका क्रममा आफ्नो सहयोग सम्बन्धी दायित्व पूरा गरेको ठहर गरेको हो ।

जेएलआरले सन् २०२६ अगस्ट २४ मा बीवाइडीको नेदरल्यान्ड्सस्थित कार्यालयमा गरिएको प्रमाण संकलनका क्रममा सहयोग नगरेको आरोप लगाउँदै ५ लाख युरो जरिवाना माग गरेको थियो । तर, अदालतले बीवाइडीले उपलब्ध गराउन सक्ने आवश्यक विवरण र पहुँच उपलब्ध गराएको भन्दै उसको पक्षमा फैसला सुनाएको हो ।

अदालतका अनुसार प्रमाण संकलनका क्रममा बीवाइडीका कर्मचारीले ल्यापटप उपलब्ध गराएका थिए । त्यस्तै, माइक्रोसफ्ट ३६५ मा पहुँच दिन चीनस्थित सूचना प्रविधि टोलीको सहयोग लिइएको थियो । कम्पनीले टेन्सेन्ट वीच्याट वर्कका लगइन कोड र पासवर्डसमेत उपलब्ध गराएको थियो।

यद्यपि, वीच्याट वर्कमा रहेका सन्देश डाउनलोड गर्न वा सुरक्षित राख्न प्राविधिक सीमितता रहेको थियो । अदालतले उक्त सीमितता हटाउन नसकेको विषयलाई बीवाइडीको असहयोग मान्न नमिल्ने ठहर गरेको छ ।

त्यस्तै, प्रमाण संकलनमा खटिएका अधिकारीहरूको प्रतिवेदनमा बीवाइडीसँग थप के सहयोग मागिएको थियो भन्ने स्पष्ट उल्लेख नभएको, त्यसका लागि उचित समयसीमा पनि नतोकिएको अदालतले जनाएको छ । त्यसैले कम्पनीले आदेश पालना नगरेको पुष्टि हुन नसक्ने अदालतको निष्कर्ष छ ।

अदालतले उल्टै जेएलआरलाई बीवाइडीलाई कानुनी खर्चबापत २५ हजार ३७६.५७ युरो तिर्न आदेश दिएको छ । जेएलआरले उक्त आदेशमा हालसम्म कुनै आपत्ति जनाएको छैन ।

डिजाइन चोरेको आरोप, अरु मुद्दा भने विचराधीन

जेएलआर र बीवाइडी बीचको विवादको मुख्य विषय डिजाइन चोरी सम्बन्धी हो । जेएलआरले बीवाइडीले आफ्नो टीआई ७ एसयूभीमा ल्याण्ड रोभर डिफेन्डर ११० को डिजाइन चोरेको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएको थियो ।

तर, नेदरल्यान्ड्सको अदालतको पछिल्लो फैसलाले बीवाइडीले डिजाइन नक्कल गरेको वा नगरेको विषयमा कुनै निर्णय गरेको छैन ।

जेएलआरले बीवाइडीका विभिन्न डिजिटल अभिलेख तथा तथ्यांकबाट सम्भावित डिजाइन नक्कल सम्बन्धी प्रमाण जुटाउन खोजेको थियो । तर, अदालतले युरोपेली संघमा दर्ता भएको डिजाइन सम्बन्धी दाबीका लागि उक्त प्रमाण संकलन आवश्यक नरहेको ठहर गर्दै यसअघि जारी गरिएको प्रमाण संकलनको आदेशसमेत खारेज गरेको छ ।

अदालतका अनुसार बीवाइडीले आफ्नो टीआई ७ मोडल युरोपेली बजारमा बिक्री गरेको थिएन । भविष्यमा उक्त गाडी युरोपमा बिक्री हुन सक्ने सम्भावनाले मात्रै जेएलआरलाई आर्थिक क्षति पुगेको मान्न नसकिने अदालतको ठहर छ ।

प्रमाण संकलनका क्रममा नियन्त्रणमा लिइएका डिजिटल सामग्री न्यायिक संरक्षकको जिम्मामा राखिएका थिए । अदालतले प्रमाण संकलनको आदेश खारेज गरेपछि ती सामग्री नष्ट गर्ने व्यवस्था मिलाउन पनि जेएलआरलाई निर्देशन दिएको छ ।

यसबीच, जेएलआरले बीवाइडीविरुद्ध दायर गरेका अन्य मुद्दा भने जारी छन् । हेगमा युरोपेली संघमा दर्ता भएको डिजाइनको नक्कल गरेको आरोपसम्बन्धी मुद्दा चलिरहेको छ । त्यस्तै, रोटरड्याममा प्रतिलिपि अधिकार उल्लंघन तथा अत्यधिक समान डिजाइन बनाएको आरोपसम्बन्धी मुद्दा पनि विचाराधीन छ ।


Back_to_top