काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षलाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा आएका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
चिनियाँ पक्षले भदौ १४ देखि बिना कारण एकतर्फी रुपमा अनिश्चिकालका लागि तातोपानी नाका बन्द गरेको थियो । परराष्ट्रमन्त्री खनालले बाढीक कारण रसुवागढी नाका बन्द भएको र हिउँदको समयमा चीनसँगका अन्य नाकाहरु पूर्ण रुपमा संचालन गर्न सक्ने अवस्था नरहेकाले तातोपानी नाका तत्काल खोल्न विशषे आग्रह गरेका हुन् ।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ । यसैले यो नाकालाई हाम्रा दुई मुलुकबिचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी छ,’ उनले भने ।
उक्त अवसरमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाललाई दिए । उक्त अवसरमा दुई पक्ष बीच दुई मुलुक बीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षा लगायत विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

