काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिना (साउन-कात्तिक)मै झण्डै १३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले कात्तिक मसान्तसम्ममा कुल १२ अर्ब ९६ करोड ५७ लाख ८२ हजार ३३ रुपैयाँ संकलन गरेको हो । जुन कार्यालयको चालु आवको वार्षिक लक्ष्यभन्दा ४४ प्रतिशत अर्थात् ३ अर्ब ९६ करोड रुपैयाँ धेरै हो । कार्यालयले ४ महिनामै वार्षिक लक्ष्यको १४४ प्रतिशत राजस्व उठाएको हो ।
मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।चीनसँगका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी बन्द भएपछि कोरलाबाट सामाना आयात बढ्दा ३ महिनामै राजस्व लक्ष्य प्राप्त भएको हो । कार्यालयले असोज मसान्तमै वार्षिक राजस्व लक्ष्य भेटाएको थियो ।
कोरला नाकाबाट विद्युतीय सवारी साधन, लत्ताकपडा, घरायसी प्रयोजनका विद्युतीय सामाग्री, जुत्ताचप्पलल गायतका सामान आयात भइरहेको कार्यालय प्रमुख अनन्त तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार कात्तिक मसान्तसम्म कुल ७ हजार युनिट विद्युतीय सवारी साधन जाँचपास भएका छन् । यो संख्या प्यासेन्जर कार र कमर्शियल भेहिकल दुवैको हो ।
‘कात्तिक ३० गतेसम्म कार्यालयले १२ अर्ब ५६ करोड राजस्व संकलन गरेको छ । यस अवधिमा ७ हजार युनिट ईभी र २७१२ वटा मालवाहक कन्टेनर जाँचपास भएका छन्,’ उनले मरोअटोसँग भने ।
चीनतर्फबाट मालसामान आउने क्रम अझै जारी रहेको उनको भनाइ छ । व्यवसायीले तिहार अघि ल्याएका करिब ५०० युनिट विद्युतीय गाडी हिमपातका कारण चीन-नेपाल सीमा क्षेत्रमा रोकिएका थिए । हिजोदेखि हिउँ पन्छाएर ती गाडी ल्याउने काम भइरहेको उनले जानकारी दिए ।
पछिल्लो दुई महिनामै कोरलाबाट ५५०० युनिट बढी ईभी भित्रिएका थिए । व्यवसायीले दशैं, तिहारलाई लक्षित गर्दै ठूलो संख्यामा ईभी भित्र्याएका हुन् । कोरला नाकाबाट साउनमा १००, भदौमा १३५३, असोजमा ३१०० र कात्तिकमा २४४६ युनिट ईभी आयात भएको कार्यालयको तथ्यांक छ ।
कोरला नाका हुँदै बीवाइडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल, स्काइवेल लगायत ब्राण्डका ईभी आयात भइरहेका हुन् ।
यद्यपि, कोरला नाका ईभी आयात गर्ने सबैभन्दा ठूलो नाका भए पनि गाडी गन्तव्यसम्म ल्याइपुर्याउन भने असहज छ । गत असोज ८-१२ गतेसम्म आएको बाढीपहिरोले ५५ ठाउँमा क्षतिग्रस्त बनाएको थियो । मर्मत सम्भार गरी असोज २३ देखि संचालनमा ल्याइए पनि खाल्डाखुल्डी, हिलो, धुलो लगायत कारण सहज भने छैन । त्यस्तै, अहिले हिउँका कारण सीमादेखि १४ किमी तल रहेको भन्सार कार्यालयसम्म गाडी ल्याउन समस्या भइरहेको छ ।
गत वर्ष बाढीपहिरोले तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि सरकारले २०८२ भदौ ३१ देखि मुस्ताङ भन्सार नियमित रूपमा संचालनमा ल्याएको थियो । गत वर्ष कोरला हुँदै करिब ३ हजार विद्युतीय सवारी आयात भएको थियो भने ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएकाे थियो ।

