बीवाइडीले ५ सिट क्षमताको टाङ एसयूभी ल्याउने, रेन्ज ८५० किमी

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले आफ्नो लोकप्रिय एसयूभी टाङको थर्ड जेनेरेशन मोडल नोभेम्बर २४ मा सार्वजनिक गर्ने भएको छ । पाँच सिट क्षमताको नयाँ टाङ प्योर इलेक्ट्रीक एसयूभी हुनेछ ।

बीवाइडीले चीनमा नोभेम्बर १३ देखि नै यसको प्रि-सेल सुरु गरेको थियो । कम्पनीको डाइनास्टी सिरिजअन्तर्गत आउने नयाँ टाङ तीन भेरियन्टमा उपलब्ध हुनेछ ।

कम्पनीले यसमा दुईवटा सिंगल मोटर रियर ह्वील ड्राइभ र एउटा डुअल मोटर अल ह्वील ड्राइभ भेरियन्ट बजारमा ल्याउने छ । चीनमा यसको प्रि–सेल मूल्य क्रमशः २ लाख २५ हजार, २ लाख ४० हजार र २ लाख ६० हजार युआन तोकिएको छ ।

बीवाइडी टाङ निकै ठूलो एसयूभी हो । यसको लम्बाइ ५०४५ एमएम, चौडाइ १९८० एमएम र ह्वीलबेस २९५० एमएम छ । यसको पछाडि रहेको सिटलाई १३० डिग्रीसम्म ढल्काउन सकिन्छ ।

रियर ह्वील ड्राइभ भेरियन्टमै ३०० किलोवाट क्षमताको मोटर छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ८५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । अल ह्वील ड्राइभ भेरियन्टमा भने निकै शक्तिशाली ५१५ किलोवाट क्षमताको मोटर जडान भएका छन् । यसको रेन्ज ७७० किलोमिटर हुने कम्पनीको दावी छ ।

नयाँ टाङमा बीवाइडीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्यास चार्जिङ प्रविधि प्रयोग गरिएको छ । यस प्रविधिमार्फत सामान्य तापक्रममा ब्याट्रीलाई १० देखि ७० प्रतिशत चार्ज गर्न करिब ५ मिनेट र ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

पहिलेको तुलनामा यसको इन्टेरियरमा पनि व्यापक परिवर्तन गरिएको छ । डाइलिङ्क म्याक्स स्मार्ट ककपिटसहित ३५.४ इन्चको इन्टिग्रेटेड डिस्प्ले र ३० इन्चको प्यानोरामिक स्क्रिन दिइएको छ । चारवटै सिटमा भेन्टिलेसन, हिटिङ र १० पोइन्ट मसाज सुविधा उपलब्ध छ ।

सुरक्षाका लागि लिडारसहितको गड्स आइ बी स्मार्ट ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध छ । यसले सहरभित्र नेभिगेसनमा आधारित ड्राइभिङ असिस्ट र स्मार्ट पार्किङ सुविधा प्रदान गर्छ । साथै, उच्च गतिमा टायर पन्चर हुँदा गाडीलाई नियन्त्रणमा राख्न सहयोग गर्ने टीबीसी सिस्टम पनि उपलब्ध छ । यसमा डाइसस-ए डुअल चेम्बर एयर सस्पेन्सन प्रयोग गरिएको छ ।


Back_to_top