जनकपुर-अयोध्या रेल सेवा संचालन गर्न स्वीकृति

काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म साप्ताहिक रेल सेवा संचालन गर्न भारतीय रेल्वेले स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ६०४ किलोमिटर लामाे दूरीकाे यो रेल सेवा सातामा एकपटक संचालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्याको क्यान्टबाट सोमबार रेल छुट्ने छ ।

उक्त रेल भारतको बिहार र उत्तर प्रदेश हुँदै संचालन हुनेछ । जसमा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा यात्रु चढाउने र ओराल्ने स्टेसन राखिएको छ ।

सीताको जन्मस्थल जनकपुरधाम र भगवान रामको जन्मस्थल अयोध्या जोड्ने यो रेल सेवा संचालनले दुवै देशका धार्मिक पर्यटन र यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाले दुई देशबीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन, आर्थिक गतिविधि र आपसी सम्बन्धलाई थप मजबुत बनाउने रेल मन्त्रालयले जनाएको छ ।


Back_to_top