काठमाडौं । पछिल्लो समय एड्भेन्चर तथा अफरोड मोटरसाइकलप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । लामो दूरीको यात्रा, खराब सडक तथा कठिन भौगोलिक क्षेत्रमा समेत सहज रूपमा चलाउन सकिने भएकाले एड्भेन्चर मोटरसाइकलको माग बढ्दै गएको हो ।
बढ्दो मागलाई मध्येनजर गर्दै उत्पादकहरू बीच नयाँ मोडल ल्याउने तीव्र प्रतिस्पर्धा चलिरहेको छ । सोही क्रममा भारतका प्रमुख दुईपाँग्रे निर्माताहरूले आधा दर्जन नयाँ एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने तयारी थालेका छन् ।
रोयल इनफिल्ड, हिरो, बजाजले चाँडै नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएका हुन् । रोयल इनफिल्डले आफ्नो लोकप्रिय हिमालयनको अझ शक्तिशाली र ठूलो क्षमताको संस्करण हिमालयन ७५० ल्याउने तयारी गरिरहेको छ । साथै, कम्पनीले विद्युतीय एड्भेन्चर मोटरसाइकलको विकासलाई समेत तीव्र बनाएको छ ।
त्यस्तै, हिरो मोटोकर्पले इक्मा २०२६ मा एक्सपल्स ४५० र एक्सपल्स १५० सार्वजनिक गर्दै एड्भेन्चर सेग्मेन्टमा आफ्नो उपस्थिति थप विस्तार गर्ने भएको छ । बजाज अटोले पनि नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल परीक्षण गरिरहेको छ ।
यी मोटरसाइकल भारतीय बजारमा लन्च भएपछि नेपाली बजारमा पनि आउने छन् । रोयल इनफिल्ड, हिरो, बजाज तिनै ब्राण्डका मोटरसाइकल बिक्री भइरहेकाले नयाँ मोडल पनि उपलब्ध हुने सम्भावना बलियो छ । यद्यपि, केही सयम भने कुनुपर्ने देखिन्छ ।
१. रोयल इनफिल्ड हिमालयन ७५०
रोयल इनफिल्डको सबैभन्दा ठूलो एड्भेन्चर मोटरसाइकलका रूपमा हिमालयन ७५० बजारमा आउने तयारीमा छ । इक्मा २०२६ मा सार्वजनिक गरिएको यस मोटरसाइकलमा ७४३ सीसीको एयर तथा आयल कुल्ड प्यारलल ट्विन इन्जिन दिइएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा ५५ एचपी पावर र ५ हजार आरपीएममा ६३ एनएम टर्क उत्पादन गर्छ ।

यसमा ६ स्पीड गियरबक्स र असिस्ट तथा स्लिपर क्लच दिइएको छ । पाँच राइडिङ मोड, क्रुज कन्ट्रोल, कर्नरिङ एबीएस, एड्जस्टेबल ट्रयाक्सन कन्ट्रोल र सिक्स एक्सिस आईएमयू यसको प्रमुख विशेषता हुन् । त्यस्तै, ४ इन्चको टीएफटी डिस्प्ले, अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील दिइएको छ । कम्पनीले यसलाई भारतमा यही महिना आयोजना हुने मोटोभर्समा समेत थप प्रदर्शन गर्ने बताएको छ ।
२. हिरो एक्सपल्स ४५०
हिरो मोटोकर्पले पनि इक्मा २०२६ मा सार्वजनिक गरेको अर्को महत्वपूर्ण मोडल एक्सपल्स ४५० हो । यसमा ४२१ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ९,१०० आरपीएममा ४६.७ एचपी पावर र ७,५०० आरपीएममा ३८ एनएम टर्क उत्पादन गर्छ ।
६ स्पीड गियरबक्स रहेको यस मोटरसाइकलमा २२५ एमएम ट्राभलसहितको एड्जस्टेबल ४३ एमएम केवाईबी अपसाइड डाउन फ्रन्ट फर्क दिइएको छ । ट्युबलेस वायर स्पोक ह्वील, राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सपोर्ट गर्ने ७ इन्चको टीएफटी डिस्प्ले यसका विशेषता हुन् । यसको अन्तर्राष्ट्रिय बजारमा २०२७ देखि बिक्री सुरु हुने र त्यसपछि भारतमा पनि सार्वजनिक गर्ने तयारी छ ।
३. बजाज ट्रेकर डुअल स्पोर्ट
बजाज अटोले पहिलो पटक विशेष रूपमा डुअल स्पोर्ट सेग्मेन्टका लागि मोटरसाइकल विकास गरिरहेको छ । परीक्षणका क्रममा पटक पटक देखिएको यस मोटरसाइकलको नाम ट्रेकर हुन सक्ने अनुमान गरिएको छ ।

यसमा अग्लो फ्रन्ट मडगार्ड, लामो सस्पेन्सन ट्राभल, अपराइट ह्यान्डलबार र माथिल्लो भागमा राखिएको एक्जस्ट पाइप देख्न सकिन्छ । टेलिस्कोपिक फ्रन्ट फर्क, लिंकेजसहितको रियर मोनोसक र दुवै पाँग्रामा डिस्क ब्रेक दिइएको छ ।
यसमा पल्सर एन २५० मा प्रयोग भएको २५० सीसीको एयर तथा आयल कुल्ड सिंगल सिलिण्डर इन्जिन प्रयोग हुन सक्ने अनुमान छ । यो मोटरसाइकल सुरूमा ब्राजिलमा सार्वजनिक भएपछि भारत तथा अन्य बजारमा आउने बताइएको छ ।
४. हिरो एक्सपल्स १५०
हिरो एक्सपल्स १५० लाई मुख्यतः अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर विकास गरिएको हो । इक्मा २०२६ मा पहिलो पटक देखाइएको यो मोटरसाइकलमा १५० सीसीको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिन छ । यसले १२.२ पीएस पावर र १२.८ एनएम टर्क उत्पादन गर्छ । पाँच स्पीड गियरबक्स रहेको मोटरसाइकलको तौल १४१.५ किलोग्राम छ ।
यसमा १९ इन्चको अगाडि र १७ इन्चको पछाडि ह्वीलसँगै डुअल पर्पस टायर दिइएको छ । २२० एमएम ग्राउण्ड क्लियरेन्स र ८२६ एमएम सिट हाइट रहेको यस मोटरसाइकलमा इन्जिन प्रोटेक्सन प्लेट, अग्लो फ्रन्ट मडगार्ड, ह्याण्डगार्ड र लगेज क्यारियर पनि उपलब्ध छन् ।
नेपाल वा भारतमा यसको आगमनबारे स्पष्ट जानकारी छैन । यद्यपि, यसलाई पुरानो हिरो इम्पल्सको नयाँ पुस्ताका रूपमा हेर्न सकिन्छ । यो एक्सपल्स २१० भन्दा तलको सेग्मेन्टमा रहने सम्भावना छ । भारतमा यसको परीक्षण भइरहेको छ ।
५. रोयल इनफिल्ड हिमालयन इलेक्ट्रीक
रोयल इनफिल्डले आफ्नो हिमालयन एड्भेन्चर मोटरसाइकललाई विद्युतीय स्वरूपमा ल्याउने सम्भावनासहित काम गरिरहेको छ । कम्पनीले एचआईएम–ई प्रोजेक्टअन्तर्गत इलेक्ट्रीक एड्भेन्चर बाइकको विकास गरिरहेको हो ।

यसको पहिलो प्रोटोटाइप २०२३ को इक्मा अटो शोमा प्रदर्शन गरिएको थियो । त्यसपछि अर्को संस्करणमा परिमार्जित मोडल देखाइएको थियो । कम्पनीले यसलाई पहाडी तथा कठिन अफरोड क्षेत्रमा परीक्षण समेत गरिसकेको छ । परीक्षणबाट च्यासिस, ब्याट्रीको पोजिसन र अफरोड क्षमताबारे अध्ययन भइरहेको छ ।
केही रिपोर्ट अनुसार यसको व्यावसायिक उत्पादन २०२७ देखि सुरू हुन सक्ने अनुमान गरिएको छ । तर, कम्पनीले अहिलेसम्म उत्पादन र बजार प्रवेशको आधिकारिक समय सार्वजनिक गरेको छैन । त्यसैले इलेक्ट्रीक हिमालयन बजारमा आउन अझै केही समय लाग्न सक्ने देखिन्छ ।

