ईभी सस्तो बनाउन फोर्डको नयाँ कदम, अमेरिकामै एलएफपी ब्याट्री उत्पादन सुरू

काठमाडौं । अमेरिकी अटोमोबाइल निर्माता कम्पनी फोर्डले विद्युतीय सवारी साधनको लागत घटाउने उद्देश्यले अमेरिकामै लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री उत्पादन सुरू गरेको छ ।

कम्पनीले चिनियाँ ब्याट्री उत्पादक कम्पनी सीएटीएलको प्रविधि प्रयोग गरेर फोर्डले मिचिगनस्थित आफ्नो प्लाण्टबाट ब्याट्री सेल उत्पादन थालेको हो ।

फोर्डका अनुसार ब्लूओभल ब्याट्री पार्क मिचिगनमा पहिलो एलएफपी प्रिज्म्याटिक ब्याट्री सेल उत्पादन भएका छन् । ती ब्याट्री फोर्डको आगामी नयाँ इलेक्ट्रीक पिकअप ट्रक ‘फ्याथम’ का प्रोटोटाइपमा प्रयोग गर्न केन्टकीस्थित लुइसभिल एसेम्बली प्लाण्ट पठाइनेछ ।

अमेरिकामा ईभी उत्पादन लागत घटाउने र चिनियाँ उत्पादकसँग प्रतिस्पर्धा गर्ने लक्ष्यसहित फोर्डले थालेको यो परियोजनालाई अमेरिकी ब्याट्री उत्पादन क्षमता विस्तारको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

फोर्डको उक्त प्लाण्ट करिब ३ अर्ब अमेरिकी डलर लगानीमा निर्माण भएको हो । गत महिनादेखि उत्पादन सुरू भएको प्लाण्टमा सीएटीएलले प्रविधि र उत्पादन सम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराएको छ । तर, प्लाण्टको स्वामित्व र संचालन भने फोर्ड आफैँले गरिरहेको छ।

फोर्डका अनुसार मिचिगनस्थित प्लाण्टका उत्पादन लाइनबाट प्रतिमिनेट ४० वटा ब्याट्री सेल उत्पादन गर्न सकिन्छ । उक्त प्लाण्टबाट विद्युतीय गाडी र ऊर्जा भण्डारण व्यवसायका लागि वार्षिक करिब २० गिगावाट आवर ब्याट्री उत्पादन गर्ने लक्ष्य छ । सुरूमा उत्पादन क्षमता ४० गिगावाट आवर पुर्याउने योजना रहे पनि ईभीको व्यापार सुस्त भएपछि फोर्डले तत्कालका लागि उत्पादन लक्ष्य घटाएको हो ।

फोर्डले आगामी वर्षदेखि ब्याट्री सेल उत्पादन बढाउने योजना बनाएको छ । सन् २०२७ को चौथो त्रैमासिकमा बजारमा ल्याउने तयारी गरिएको विद्युतीय पिकअप फ्याथमको उत्पादन अघि नै ब्याट्री आपूर्ति सुनिश्चित गर्ने कम्पनीको योजना छ । त्यस्तै, मिचिगनमै ब्याट्री प्याक उत्पादन गर्ने अर्को प्लाण्ट पनि सन् २०२७ मा संचालनमा ल्याइनेछ ।

फोर्डले विद्युतीय गाडी सस्तो बनाउन एलएफपी ब्याट्री प्रविधिलाई महत्व दिएको हो । परम्परागत निकेल र कोबाल्टमा आधारित ब्याट्रीको तुलनामा एलएफपी ब्याट्रीमा यी महँगा धातु प्रयोग हुँदैनन् । त्यसैले यसको उत्पादन लागत कम हुन्छ । साथै, लामो समयसम्म चार्ज तथा डिस्चार्ज गर्दा पनि यसको कार्यक्षमता राम्रो रहने कम्पनीको भनाइ छ ।

फोर्डले आयताकार प्रिज्म्याटिक सेल प्रयोग गरेको छ । यस्तो सेललाई गाडीको चेसिसमा सीधै जडान गर्न सकिन्छ । यसले ब्याट्री प्याकलाई गाडीको संरचनात्मक हिस्साका रूपमा प्रयोग गर्न सम्भव बनाउँछ, जसबाट छुट्टै संरचना निर्माण गर्नुपर्ने लागत घट्छ ।

फोर्डले सीएटीएल छनोट गर्नुअघि विश्वका विभिन्न ब्याट्री उत्पादक कम्पनीसँग छलफल गरेको जनाएको छ । ठूलो परिमाणमा उत्पादन गर्न सकिने र बजारमा परीक्षण भइसकेको प्रविधि आवश्यक भएकाले सीएटीएलसँग सहकार्य गरिएको कम्पनीको भनाइ छ । हाल विश्वभर करिब ३ करोड सवारीमा सीएटीएलका ब्याट्री प्रयोग भइरहेका छन्।

सीएटीएलसँगको सहकार्यमा राजनीतिक विवाद

फोर्डले सीएटीएलसँग गरेको प्रविधि सहकार्यलाई लिएर अमेरिकामा राजनीतिक विवाद समेत देखिएको छ । केही अमेरिकी सांसद र यातायातमन्त्री सिन डफीले चिनियाँ कम्पनीसँगको फोर्डको सम्बन्धप्रति प्रश्न उठाएका छन् ।

गत सेप्टेम्बरमा यातायातमन्त्री डफीले फोर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीलाई पत्र लेख्दै चिनियाँ कम्पनीहरूसँगको सम्बन्धप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । यद्यपि, त्यसको भोलिपल्ट ह्वाइट हाउसले अमेरिकामा रोजगारी सिर्जना र उत्पादन विस्तारमा फोर्डले गरेको योगदानको प्रशंसा गरेको थियो।


Back_to_top