काठमाडौं । मर्सिडिज बेन्जको दुर्लभ सुपरकार एसएलआर म्याक्लारेन स्टर्लिङ मोस ६० लाख अमेरिकी डलर (करिब ९२ करोड रुपैयाँ) भन्दा बढी मूल्यमा बिक्री हुने भएको छ । सन् २०१० मा निर्मित यो कार आगामी महिना लिलामी बिक्रीका लागि राखिँदै छ ।
यसको अनुमानित मूल्यले मर्सिडिज एएमजी वानजस्ता आधुनिक हाइपरकारलाई समेत तुलनात्मक रूपमा सस्तो देखाउनेछ ।
मर्सिडिज बेन्जले बेलायती चर्चित रेसिङ चालक स्टर्लिङ मोसको सम्मानमा यो विशेष कार निर्माण गरेको थियो । यसको डिजाइन सन् १९५० को दशकमा मोसले चलाएको मर्सिडिज ३०० एसएलआरबाट प्रेरित छ ।
कम्पनीले यसको जम्मा ७५ युनिट मात्रै उत्पादन गरेको थियो । जबकि सामान्य एसएलआर म्याक्लारेनका २ हजारभन्दा बढी युनिट उत्पादन भएको थियो ।
यो कारको विशेषता यसको खुला छत भएको स्पिडस्टर डिजाइन हो । सामान्य एसएलआर म्याक्लारेनभन्दा निकै फरक देखिने यसमा विन्डस्क्रिनसमेत छैन ।
आरएम सोथेबीका अनुसार लिलामीमा राखिन लागेको यो कार एसएलआर स्टर्लिङ मोसको अन्तिम उत्पादन युनिट हो । यसलाई कुवेतको राजपरिवारले विशेष अर्डरमार्फत निर्माण गराएको थियो ।
सन् २०२४ मा मात्रै यो कार अमेरिका पुगेको हो । फायर ओपल रेड कलरमा तयार भएको एकमात्र एसएलआर स्टर्लिङ मोस हो । यसको बाहिरी भागमा सिल्भर रङका ह्विल र अगाडिका फेन्डरमा स्टर्लिङ मोसको हस्ताक्षर अंकित सुनौलो ब्याज राखिएको छ ।
सन् २००९ डिसेम्बरमा उत्पादन भएको यो कार अहिलेसम्म जम्मा ३२.९ माइल मात्रै गुडेको छ । आधिकारीक विवरणअनुसार बेलायतमा यसको सर्भिसिङमा करिब ४० हजार अमेरिकी डलर खर्च गरिएको थियो ।
सिट, स्टेयरिङ ह्विल र डोर प्यानलमा रातो लेदर प्रयोग भएको छ । यसमा ५.४ लिटरको सुपरचाज्र्ड भी८ पेट्रोल इन्जिन छ । उक्त इन्जिनले ६४१ हर्सपावर उत्पादन गर्छ । यसमा ५ स्पिड अटोमेटिक ट्रान्समिसन र रियर ह्विल ड्राइभ सिस्टम छ ।

