डेन्जा बी ५ ले देखायो शक्ति, दुईपाँग्राले नै तान्यो १८० टनको बोइङ ७४७ जहाज

काठमाडौं । बीवाइडीको डेन्जा बी ५ (बाओ ५) प्लग इन हाइब्रिड अफरोड एसयूभीले आफ्नो शक्ति प्रदर्शन गरेको छ । डेन्जा बी ५ ले १८० टन तौलको बोइङ ७४७ विमान तान्दै सबैको ध्यान तानेको हो ।

बेलायतस्थित परीक्षण केन्द्रमा गरिएको उक्त परीक्षणमा डेन्जा बी५ ले गाडीको बायाँतर्फका दुईवटा पाँग्रामा मात्र गुड्दै विशाल विमान तानेको हो । यससँगै यसले फक्सवागन टुआरेगले गरेको चर्चित उपलब्धिलाई दोर्होयाएको छ ।

डेन्जा बी ५ एसयूभीले कडा टो बारको प्रयोग गरेर ठूलो विमान तानेको थियो । पहिलो प्रयासमा बी५ ले तीनवटा पाँग्राको सहायताले बोइङ विमान तानेको थियो । यस क्रममा गाडीभित्र थप २ हजार किलोग्राम तौल राखिएको थियो । त्यस अवस्थामा प्रत्येक पाँग्रामा ६० टन बराबरको भार परेको थियो।

दोस्रो प्रयासमा इन्जिनियरहरूले गाडीको दायाँतर्फका दुईवटा पाँग्रा हटाएर भित्र ४ हजार ५०० किलोग्राम तौल राखेका थिए । यस अवस्थामा दुईवटा पाँग्राले मात्रै १८० टनको विमान तानेका थिए । प्रत्येक पाँग्रामा ९० टन बराबरको भार परेको थियो ।

तीन पटकको प्रयासपछि डेन्जा बी५ ले बोइङ ७४७ विमानलाई कुल १ हजार ६०० मिटर दूरीसम्म तान्न सफल भएको कम्पनीले जनाएको छ । यस परीक्षणका लागि गाडीमा कुनै प्राविधिक परिमार्जन नगरिएको पनि कम्पनीको भनाइ छ ।

यहाँ रोचक कुरा बी ५ को अगाडि र पछाडिका एक्सल बीच कुनै यान्त्रिक सम्बन्ध छैन । अगाडिका पाँग्राले सडकमा पकड गुमाएमा तिनको शक्ति पछाडिको एक्सलमा स्थानान्तरण हुन सक्दैन । त्यसैले कुनै एकतर्फका पाँग्रा हटाएर विमान तान्नु थप चुनौतीपूर्ण मानिन्छ ।

डेन्जा बी५ मा डाइसस–पी हाइड्रोलिक सस्पेन्सन प्रणाली प्रयोग गरिएको छ । यसले गाडीको ग्राउण्ड क्लियरेन्स १४० एमएमसम्म समायोजन गर्न सक्छ । साथै, यस प्रणालीमा ९ टनसम्म भार उठाउन सक्ने क्षमता रहेको छ ।

गाडीमा सेल टु चेसिस संरचना प्रयोग गरिएको छ । यसको बडीमा ९६ प्रतिशत उच्च क्षमतायुक्त स्टिल रहेको कम्पनीले जनाएको छ । यसले गाडीको संरचनात्मक मजबुती र कठोरता बढाउन सहयोग गर्छ।

डेन्जा बी५ मा डीएम–ओ प्लग इन हाइब्रिड प्रणाली दिइएको छ । यसमा १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन छ । जसले १३५ १८१ हर्सपावर शक्ति उत्पादन गर्छ । यससँगै अगाडि २०० किलोवाट र पछाडि २८५ किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर जडान गरिएका छन् । बी ५ को इन्जिनले संयुक्त रूपमा अधिकतम ५३६ हर्सपावर शक्ति र ७६० न्युटन मिटर टर्क उत्पादन गर्छ ।

डेन्जा बी ५ पीएचईभी बजारमा एलिगेन्स र अल्टिमेट गरी दुई भेरियन्टमा उपलब्ध छ । बेलायतमा यसको बेस भेरियन्टको मूल्य ९२ हजार ५७० र टप भेरियन्टको १ लाख ४ हजार ९१० डलर पर्छ । नेपाली बजारमा यसको सुरुआती मूल्य २ करोड ९७ लाख रुपैयाँ रहेको छ ।


Back_to_top