के पेट्रोलमा बचत भएको पैसा ईभीको टायर किनेर सकिन्छ ?

काठमाडौं । अहिले विश्वभर ईभीमा प्रयोग हुने टायरको मूल्यलाई लिएर चर्चा चलिरहेको छ । धेरैले पेट्रोलमा बचत भएको रकम ईभीको टायर किन्न ठिक्क हुने प्रतिक्रिया दिँदै आएका छन् ।

ईभीमा प्रयोग हुने टायर सामान्य पेट्रोल तथा डिजेल गाडीमा प्रयोग हुने टायरभन्दा छिटो खिइने मात्रै होइन, मूल्यका हिसाबले पनि निकै महँगा हुन्छन् । त्यसैले धेरै मानिसले पेट्रोलको रकमसँग यसको तुलना गर्ने गरेका हुन् ।

ईभी भन्ने बित्तिकै कम मर्मत खर्च भनेर बुझिन्छ । पेट्रोल र डिजेल गाडीको तुलनामा ईभीमा चलायमान पार्टपुर्जा कम हुने भएकाले इन्जिन आयलमा पनि खर्च गर्नु पर्दैन । रिजेनेरेटिभ ब्रेकिङका कारण ब्रेक प्याड पनि लामो समय टिक्छ । तर, ईभीको टायर भने यसको अपवाद बनेको छ ।

गाडीको बढी तौल, मोटरबाट प्राप्त हुने उच्च टर्क, कम रोलिङ रेसिस्टेन्स र विशेष उत्पादन प्रविधिका कारण ईभीका टायर महँगो हुने उत्पादक तथा बिक्रेताको भनाइ छ ।

घरमै चार्जिङ सुविधा भएपछि र दैनिक प्रयोगमा रेन्जको चिन्ता कम हुँदै गएपछि ईभीको स्वामित्व सहज बन्दै गएको छ । तर, टायर निर्माता कम्पनी मिशेलिनका अनुसार ईभीका टायर पेट्रोल तथा डिजेल गाडीको तुलनामा २० प्रतिशत छिटो खिइन्छ ।

सामान्यतया नयाँ ईभीले २० हजारदेखि ४० हजार किलोमिटर यात्रा गरेपछि टायर परिवर्तन गर्नुपर्ने अवस्था आउने गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा एउटा ईभीका लागि आवश्यक चारवटा टायरको सेटको मूल्य १ हजारदेखि २ हजार ५०० अमेरिकी डलरसम्म पर्न सक्छ । टायरको आकार, प्रकार र प्रयोग गरिएको रबरको गुणस्तर अनुसार मूल्य फरक हुन्छ ।

नेपाली बजारमा ईभी टायर बिक्री गर्ने कम्पनीहरूले पनि राम्रै मूल्य लगाउने गरेका छन् । साइज र क्वालिटी अनुसार १५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने ईभी टायर नेपाली बजारमा उपलब्ध छ ।

जबकि त्यही रेन्जका पेट्रोलियम पदार्थबाट चल्ने कारको टायर मूल्य ६ हजारदेखि २४ हजार रुपैयाँसम्ममा विभिन्न साइज र गुणस्तर अनुसारको टायर किन्न सकिन्छ ।


Back_to_top