काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता ग्रेट वाल मोटर (जीडब्लूएम)का दुई मोडल ओरा ५ र हाभल एच७ ले सुरक्षामा उत्कृष्ट रेटिङ पाएका छन् ।
जीडब्लूएमका दुवै एसयूभीले २०२६ मा युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएका हुन् । सवारीसाधनको सुरक्षा परीक्षण गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै जीडब्लूएमको सुरक्षा प्रविधि र इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
युरो एनक्यापले सवारीसाधनको सुरक्षा परीक्षण गर्दा यात्रुको सुरक्षा, दुर्घटनाका बेला हुने क्षति, दुर्घटनापछिको सुरक्षा व्यवस्था तथा चालकलाई सुरक्षित रूपमा सवारी चलाउन सहयोग गर्ने प्रविधिलगायत विभिन्न पक्षको मूल्यांकन गर्छ । ओरा ५ ले यी चारवटै परीक्षण क्षेत्रमा राम्रो प्रदर्शन गरेको कम्पनीले जनाएको छ।
विशेषगरी दुर्घटनाका बेला यात्रुको सुरक्षा र दुर्घटनापछिको सुरक्षासम्बन्धी परीक्षणमा यसको प्रदर्शन उल्लेखनीय रहेको छ । विद्युतीय एसयूभी ओरा ५ मा ब्याट्री सुरक्षाका लागि जीडब्लूएमको ड्रागन आर्मर ब्याट्री प्रोटेक्सन प्रणाली समावेश गरिएको छ । यसमा प्रयोग गरिएको डायु ब्याट्री सेफ्टी टेक्नोलोजीले ब्याट्रीको सुरक्षा थप मजबुत बनाउने कम्पनीको भनाइ छ ।
त्यस्तै, सवारीसाधनको कम्फर्ट र इन्फोटेनमेन्ट नियन्त्रणका लागि प्रयोग गरिएका म्यानुअल कन्ट्रोलले पनि परीक्षणमा पूर्ण अंक प्राप्त गरेका छन् । यसको स्पिड असिस्टेन्स सिस्टमले समेत प्रभावकारी प्रदर्शन गरेको छ ।
आधुनिक चालक सहायता प्रणाली (एडास), बलियो बडी संरचना र अन्य सुरक्षा प्रविधिले ओरा ५ लाई सुरक्षित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेको छ । यसअघि जीडब्लूएमले एएनक्यापबाट पनि पाँचतारे सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ । यी अन्तर्राष्ट्रिय उपलब्धिले कम्पनीले आफ्ना सवारीसाधनमा सुरक्षा प्रविधिलाई दिएको प्राथमिकता देखाउँछन् ।
नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिका अनुसार ओरा ५ र हाभल एच७ ले प्राप्त गरेको यो मान्यताले नेपाली बजारमा ब्राण्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ । कम्पनीले नेपालमा पनि अन्तर्राष्ट्रियस्तरका प्रविधि, सुरक्षा र सुविधासहितका सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।
३५ वर्षभन्दा लामो इतिहास बोकेको जीडब्लूएम विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ। कम्पनीका अनुसार हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् ।

