काठमाडौं । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने सबैभन्दा छोटो दुरीको बीपी राजमार्ग अन्तर्गत धुलिखेल-दाप्चा सडकखण्ड दुई लेनमा स्तरोन्नति गरिने भएको छ ।
बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा (पुल नं. १)सम्म २०.६ किलोमिटर सडक चौडा बनाइने भएको हो ।
हाल ५.५ मिटर फराकिलो (इन्टरमिडियट) रहेको उक्त सडक अब १० मिटर फराकिलो बनाइने भएको हो । उक्त सडक स्तरोन्नति गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
डीपीआर अनुसार धुलिखेल-दाप्चा सडक विस्तार गर्न करिब ३ अर्ब ७९ करोड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । यो सडक दुई लेनको बनाउन औसतमा प्रतिकिलोमिटर १८ करोड ५ लाख खर्च हुनेछ ।
सडक डिभिजन भक्तपुरका प्रमुख (सीडीई) सुमन योगेशले धुलिखेल-दाप्चा सडकको डीपीआर तयार पारी हाल प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) तयार पार्ने काम अन्तिम चरमा पुगेको जानकारी दिए ।
साथै, स्रोत सुनिश्चितका लागि पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव गरिएको उनले बताए । स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
‘बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि दाप्चासम्मको सडक दुई लेन फराकिलो बनाउन डीपीआर तयार भइसकेको छ । अहिले वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ‘स्रोत सुनिश्चितका लागि मन्त्रालयमा प्रस्ताव गरिएको छ । स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया सुरू हुन्छ ।’
विस्तारका क्रममा सहज स्थानमा पर्खाल उठाएर र अप्ठ्यारा ठाउँमा भित्तो काटेर सडक चौडा गरिने छ । विस्तार गरिने सडकखण्ड काभ्रेपलाञ्चोकको धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध गरी ४ नगरपालिकामा पर्छ । सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताए ।
उनका अनुसार धुलिखेलदेखि भकुण्डेबेँसीसम्म सडक दायाँबाँयाका रुख कटान र मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेको छ । ठेक्का सम्झौता भएको ३ वर्ष भित्र काम सम्पनन गर्ने लक्ष्य राखिएको छ ।
बीपी राजमार्ग अन्तर्गत नै हाल भकुन्डेबेँसीदेखि-नेपालथोकसम्म ३०.५ किमी सडक पनि दुई लेनमा पुननिर्माण भइरहेको छ । २०८१ र ८२ असोजमा आएको बाढीले क्षतिग्रस्त उक्त सडक ५ प्याकेजमा ठेक्का लगाइएको छ । काभ्रेतर्फ ४ र सिन्धुलीतर्फ १ खण्डमा ठेक्का लगाई हाल पुननिर्माण भइरहेको हो । ३०.५ किमी मध्ये २७.३ किमी नेपाल सरकार आफैंले र ३.२ किमी जापानी सहयोग नियोग जाइकाले पुनर्निर्माण गरिरहेको छ ।
धुलिखेलदेखि नेपालथोकसम्म दुई लेनमा सडक विस्तार भएपछि काठमाडौंबाट पूर्व जाने यात्रुनिकै सहज र छिटो हुनेछ । सडकमा सवारीको स्पीड प्रतिघण्टा ६० किमी पुर्याइने छ । नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म सहजै पुग्न सकिनेछ ।
नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बीपी राजमार्गलाई दुई लेन बनाउन भौगोलिक रूपमा कठिन भएकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि पनि ठेक्का लागिसकेको योगेशले जानकारी दिए ।
बीपी राजमार्ग संघीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो सडक हो । यस सडक हुँदै दैनिक ५ हजार बढी सवारी साधन आवतजावत गर्छन् ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

