नेपाल आयो १२० किलोवाट आवरको ब्याट्रीमा होङछीको लक्जरी ईभी

काठमाडौं । चिनियाँ प्रिमियम अटोमोबाइल ब्राण्ड होङछीको लक्जरी इलेक्ट्रीक एसयूभी ‘ई-एचएस ९’ नेपाली बजारमा आएको छ । एड्भान्स अटोमोबाइलले ई-एचएस ९ एसयूभी नेपाल ल्याएको हो ।

कम्पनीले नेपाल ल्याएको ई-एचएस ९ एसयूभी १२० किलोवाट आवरको ठूलो ब्याट्रीमा उपलब्ध छ । होङछी ई-एचएस ९ मा ठूलो ब्याट्रीसँगै शक्तिशाली डुअल मोटर, अत्याधुनिक प्रविधि र विलासी इन्टेरियरका कारण चीनमा फरक पहिचान बनाउन सफल मोडल हो । नेपालमा ३ करोड ५० लाख हाराहारी पर्ने अनुमान गरिएको ई-एचएस ९ एक लग्जरी मोडल हो ।

होङछी ई-एचएस ९ सामान्य पारिवारिक एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्छ । यसमा ६ सिट (२+२+२) को लेआउट रहेको छ । दोस्रो पङ्क्तिमा दुईवटा क्याप्टेन सिट भएकाले यो ६ सिटे एसयूभी बनेको हो ।

होङछी ई-एचएस ९ मा अगाडि ठूलो वाटरफल ग्रिल, इन्टेलिजेन्ट म्याट्रिक्स एलईडी हेडलाइट, २१ इन्चका डुअल टोन अलोय ह्वील र फुल विड्थ टेललाइट पाउन सकिन्छ ।

होङछीको परम्परागत डिजाइनलाई निरन्तरता दिइएको ई-एचएस ९ आधुनिक विद्युतीय प्रविधिसँग जोडेर तयार गरिएको छ । यसको लम्बाइ ५२०९ एमएम, चौडाइ २०१० एमएम र उचाइ १७१३ एमएम छ । यसको ह्विलबेस ३११० एमएम रहेको छ ।

ई-एचएस ९ को केबिनमा लेदर र्याप्ड इन्टेरियर, ट्रिपल स्क्रीन इन्टरएक्टिभ डिस्प्ले र २५६ कलरमा छान्न सकिने एम्बियन्ट लाइट पाउन सकिन्छ । यसमा ‘फोर जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल’ र बोस सेन्टरपोइन्ट सराउण्ड साउण्ड सिस्टम दिइएको छ ।

यसको ६ सिटमध्ये अगाडि र दोस्रो पङ्क्तिका सिटमा इलेक्ट्रीक एड्जस्टमेन्ट पाउन सकिन्छ । मसाज, भेन्टिलेसन र मेमोरी फङ्सन सहितको सिटले फरक अनुभूति प्रदान गर्छ । यसमा १.८ वर्गमिटरको प्यानोरामिक सनरुफ र पूरै गाडीमा प्रयोग गरिएको साउण्डप्रुफ ग्लासले यात्रालाई थप रोमान्चक बनाउँछ ।

यसमा अगाडि २०२ किलोवाट र पछाडि १६० किलोवाट क्षमताको दुईवटा इलेक्ट्रीक मोटर छ । जसको संयुक्त पावर ३६२ किलोवाट छ । यसको पिकटर्क ६०६ एनएम छ । डुअल मोटर इन्टेलिजेन्ट इलेक्ट्रीक अल ह्वील ड्राइभ सिस्टम भएको एसयूभीले ५.५ सेकेण्डमै शून्यदेखि १०० किलोमिटरको स्पीड भेटाउन सक्छ । यसको अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा छ ।

ई-एचएस ९ मा सातवटा ड्राइभिङ मोड, एयर सस्पेन्सन, आईडीसीएस सक एब्जर्बर र स्पीड सेन्सेटिभ पावर स्टेयरिङ दिइएको छ । अगाडि डबल विशबोन र पछाडि ट्रापेजोइडल आर्म इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ । दुवैतर्फ भेन्टिलेटेड डिस्क ब्रेक पाउन सकिन्छ ।


होङछीले ई-एचएस ९ मा १२० किलोवाट आवर क्षमताको टर्नरी लिथियम ब्याट्री प्रयोग गरिएको छ । जसले सिंगल चार्जमा ५४८ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ ।

सुरक्षाका लागि यसमा ९एच अल्ट्रा हाई स्ट्रेन्थ बडी आर्किटेक्चर, ब्याट्री साइड प्रोटेक्सन र आइपी ६८ सुरक्षा दिइएको छ । यसमा ग्राउण्ड क्लियरेन्स १७५ एमएम र ह्वील साइज २१ इन्चको पाउन सकिन्छ ।


Back_to_top