गाडी किन्न झनै सस्तो, ६ बैंकको बेसरेट ४.५% भन्दा तल झर्यो, कुनको कति ?

काठमाडौं । के तपाईं बैंकबाट ऋण लिएर सवारी किन्ने योजनामा हुनुहुन्छ ? यदि, हुनुहुन्छ भने अहिले तपाईंका लागि ब्याजदरका हिसाबले इतिहासकै उत्कृष्ट अवसर छ भन्दा फरक पर्दैन ।

किनभने, अहिले बैंकहरूको बेसरेट इतिहासकै सस्तो अर्थात् औसतमा ४.६९ प्रतिशतमा झरेको छ । बैंकहरूले बेसरेटमा न्यूनतम ०.५ देखि १ प्रतिशत प्रिमियम जोडेर कर्जा दिन थालेका छन् । जसकारण सजिलै ५/५.५ प्रतिशत ब्याजदरमा अटो कर्जा पाउने अवस्था छ ।

नेपाल राष्ट्र बैंकले वि.सं. २०६८ फागुनदेखि आधिकारिक रूपमा कर्जाको मासिक औसत ब्याजदर सार्वजनिक गर्न थालेको थियो । त्यसलाई आधार मान्दा अहिले बैंकको ब्याजदर इतिहासकै भएको हो । जबकि, ३/४ वर्ष अघि कर्जाको ब्याजदर १३/१४ प्रतिशतसम्म पुगेको थियो । त्यसलाई आधार मान्दा अहिले आधाभन्दा सस्तो ब्याजमा कर्जा पाइन्छ ।

बेसरेट घटेपछि बैंकहरू बीच सस्तो ब्याजदरमा कर्जा दिने प्रतिस्पर्धा चलेको छ । अटो कर्जा ७ वर्षसम्मका लागि प्रवाह हुने भएकाले बैंकहरूले दीर्घकालीन लगानीलाई समेत ध्यानमा राख्दै सस्तै ब्याजदरमा लगानी गर्न तयार छन् ।

बैंकहरूले स्थिर ब्याजदरमा ऋण लिन चाहने ग्राहकलाई पनि सस्तै ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् । बैंकहरूले अहिले ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा अटो कर्जा दिइरहेका छन् ।

ब्याजदर जति कम भयो, ऋणीलाई उति नै फाइदा हुन्छ । सस्तो ब्याजमा ऋण लिएर गाडी किन्दा लागत समेत कम पर्न जान्छ । मासिक तिर्नुपर्ने ब्याजखर्च कम हुन्छ ।

कुन बैंकले कतिमा दिन्छन् ऋण ?

कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकबाट कम ब्याजदरमा ऋण पाइन्छ भने बेसरेट धेरै भएका बैंकबाट लिँदा केही महँगो पर्छ । बैंकहरूले बेसरेटमा अधिकतम ५ प्रतिशत र न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् । सो अनुसार प्रायः सबै बैंकबाट न्यूनतम ५/५.५ प्रतिशत हाराहारीमै ऋण पाइने अवस्था छ ।

 

सरकारी स्वामित्वको नेपाल र राष्ट्रिय वाणिज्य बैैंकले ५ प्रतिशतभन्दा कम ब्याजदरको अटो लोन स्कीम नै ल्याएका छन् । दुवै बैंकले ४.९० प्रतिशत ब्याजदरमै अटो कर्जा उपलब्ध गराइरहेका छन् । राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम बेसरेट भएको बैंक समेत हो । यसको पछिल्लो तीन महिनाको अ‍ैसत बेसरेट ३.९६ प्रतिशत मात्रै छ ।

त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डको बेसरेट ३.९६ प्रतिशत रहेको छ भने एभरेष्टको ४.१४ प्रतिशत छ । यी बैंकबाट पनि करिब ५ प्रतिशत हाराहारीमा ऋण पाउन सकिन्छ ।

नबिल, नेपाल, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, कृषि विकास र सानिमा बैंक पनि तुलनात्मक रूपमा सस्तो ब्यादरमा कर्जा पाइने बैंकमा पर्छन् । यी बैंकको बेसरेट साढे ४ प्रतिशत हाराहारीमा छ । न्यूनतम ०.५/१ प्रतिशत प्रिमियमै कर्जा दिए भने ५/५.५ प्रतिशतमै अटो कर्जा पाउन सकिन्छ ।

त्यस्तै, कुमारी, प्राइम, सिटिजन्स, सिद्धार्थ, एनएमबी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु र हिमालयको बेसरेट ४.५ देखि ५ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि ५.५/६ प्रतिशत ब्याजदरमै अटो कर्जा पाउन सकिन्छ ।

नेपाल एसबीआइ र एनआइसी एशिया बैंकको बेरसेट ५ प्रतिशत माथि छ । यी बैंकबाट करिब ६ प्रतिशत हाराहारीमा अटो कर्जा पाउन सकिन्छ ।

कर्जा लिनको लागि के के चाहिन्छ कागजात ?

बैंकबाट कर्जा लिनका लागि नेपाली नागरिकको उमेर कर्जा प्रवाहका समयमा कम्तीमा १८ वर्ष पुगेको हुनुपर्नेछ । साथै, ऋणको किस्ता र ब्याज तिर्न पुग्ने स्थिर तथा नियमित आम्दानीको स्रोत खुल्ने कागजात चाहिन्छ ।

गाडी कर्जा लिने मानिसको नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी, पासपोर्ट साइजको फोटो तथा सम्बन्धित स्थानीय तहबाट जारी पारिवारिक विवरण बुझाउनुपर्नेछ । व्यवसायबाट आम्दानी गर्नेले फर्म दर्ता प्रमाणपत्र र प्यानरभ्याट प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ । कम्पनीको हकमा प्रबन्धपत्र तथा नियमावली, साझेदारी सम्झौता र अन्य कागजात समेत बुझाउनुपर्छ ।

त्यसैगरी, खरिद गर्न लागेको गाडीको मूल्य, मोडल र फिचरसहितको आधिकारिक कोटेसन बनाएर बैंकमा लैजानुपर्छ । आम्दानी प्रमाणित गर्न मासिक तलब पाएको प्रमाण, पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट, नियुक्तिपत्र र परीक्षणकाल पूरा गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

घरभाडाबाट आम्दानी हुनेले भाडा सम्झौता, भाडामा बस्ने व्यक्तिको परिचय, कर रसिद तथा सम्पत्तिको विवरण बुझाउनु पर्नेछ ।

व्यवसाय वा फर्मको हकमा लेखापरीक्षण भएको वित्तीय विवरण, अनुमानित वित्तीय विवरण र कर चुक्ता प्रमाणपत्र वा आम्दानीसम्बन्धी रसिद पेश गर्नुपर्नेछ । २५ लाख रुपैयाँ वा सोभन्दा बढी कर्जा लिनेले प्यान नम्बरसमेत अनिवार्य रूपमा बुझाउनु पर्नेछ ।


Back_to_top