काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी बाढी प्रभावित ऋणी तथा व्यवसायीलाई राहत दिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ऋणको किस्ताको साँवा ब्याज तिर्ने समय २०८३ पुस मसान्तसम्म थप गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार अब भोटेकोशी तथा बुढीगण्डकी बाढीबाट प्रभावित ऋणी तथा व्यवसायीले २०८३ असोज मसान्तभित्र तिर्नुपर्ने कर्जाको किस्ता २०८३ पुस मसान्तसम्म भुक्तानी गर्न पाउने छन् ।
भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय र रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं सो क्षेत्रका प्रभावित ऋणीहरूले यो सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूको आम्दानी, बिक्री तथा नगद प्रवाह, जगेडा कोषमा रहेको रकम लगायतको समग्र वित्तीय अवस्था, आयात-निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ । उक्त विश्लेषणका आधारमा असोज मसान्तमा किस्ता तिर्न कठिनाइ भएको पाइएका ऋणीहरूको हकमा मात्र पुस मसान्तसम्म म्याद थप गर्न सकिने व्यवस्था गरिएको छ ।

