हुन्डाईको नयाँ एसयूभी ‘आयोनिक एम’ ब्याट्री स्वापिङ प्रविधिमा आउने

काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले चिनियाँ बजार लक्षित नयाँ इलेक्ट्रीक एसयूभीको कन्सेप्ट देखाएको छ । हुन्डाईले सन् २०२६ को ग्वाङ्झाउ अन्तर्राष्ट्रिय अटो शोमा मर्करीको कन्सेन्ट देखाएको हो ।

यो मोडलको उत्पादन संस्करण भने ‘आयोनिक एम’ नाममा आउने छन् । कम्पनीले आयोनिक एमलाई सन् २०२७ को मध्यसम्ममा बजारमा बिक्री सुरू गर्ने तयारी गरेको छ ।

कम्पनीले आयोनिक एमलाई ब्याट्री स्वापिङ प्रविधिमा ल्याउने भएको हो । कम्पनीले यसमा सीएटीएलसँगको सहकार्यमा विकास गरिरहेको ब्याट्री स्वापिङ प्रविधि प्रयोग गर्ने भएको हो । जुन ब्याट्रीको चार्ज सकिएपछि चार्ज गर्नुपर्दैन । स्वापिङ स्टेसनमा खाली ब्याट्री निकालेर चार्ज भएको ब्याट्री राख्न सकिनेछ ।

आयोनिक एम हुन्डाईको चीनको लागि दोस्रो मोडल हो । कम्पनीले गत सेप्टेम्बरमा आयोनिक भी सेडान बिक्री सुरू गरेको थियो । कम्पनीले यसअघि सार्वजनिक गरेको भेनस र अर्थ कन्सेप्ट अनुसार नै ग्रहहरूको नामबाट गाडीको नाम राखेको हो ।

यसको डिजाइन विशेषगरी चिनियाँ ग्राहकलाई लक्षित गरी तयार पारिएको ‘द ओरिजिन’ डिजाइन ल्याङग्वेजमा आधारित छ । यसको अगाडिको भागमा तीखा आकार दिइएको बोनेट, पातला र एंगुलर डीआरएल, ठूलो गाढा रङको बम्पर र दुवैतर्फको बाहिरी किनारमा बत्तीहरू राखिएका छन् ।

नयाँ सिट्रिन निओन रङमा तयार पारिएको यो एसयूभीको साइडमा आकर्षक ह्वील आर्च, ठूला ज्यामितीय आकारका ह्वील र तल्लो भागमा गाढा रङको क्ल्याडिङ प्रयोग गरिएको छ । ढल्किएको अगाडिको सिसाले यसलाई स्पोर्टी स्वरूप दिएको छ ।

यसको पछाडि टेलगेटभरि फैलिएका पातला लाइट राखिएका छन् । बीचमा आयोनिक लेखिएको छ । रूफ स्पोइलर, आकर्षक आकारको टेलगेट र ठूलो तल्लो बम्परले यसको पछाडिको डिजाइनलाई पूर्णता दिएका छन् ।

हुन्डाईले आयोनिक एम प्योर ईभी मोडल हुने पुष्टि गरे पनि यसको ब्याट्री क्षमता, मोटरको शक्ति, रेन्ज बारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन ।

गाडीमा चिनियाँ प्रविधि कम्पनीहरूको सहयोगमा विकसित विद्युतीय प्रणाली पनि प्रयोग गरिनेछ । यसमा जेडवाईटीको चालक सहायता प्रविधि र बाइटडान्सको एआई मोडलमा निर्माण गरिएको स्मार्ट ककपिट रहने छ । यी प्रणालीका सम्पूर्ण फिचर र क्षमताबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


Back_to_top