काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन त्यसमा पनि कमर्सियल भेहिकलको सुरक्षाको विषय निकै चासोको साथ चर्चा गर्न थालिएको छ । अहिले कमर्सियल ईभीमा पनि साना माइक्रोबसदेखि ठूला ट्रकहरूसम्म आयात भइसकेका छन् ।
यही साता वीरगंजमा एउटा ठूलो दुर्घटना भयो । उक्त दुर्घटना सुन्दा आङ नै सिरिङ हुन्छ । तर, त्यसमा संलग्न कसैलाई पनि केही भएन । गाडी पनि सुरक्षित नै रह्यो ।
एक्ससीएमजी कम्पनीले उत्पादन गरेको विद्युतीय हेभी ड्यूटी ट्रकको वीरगंजमा रोडवर्दिनेस टेस्ट चलिरहेको थियो । फुल लोड बोकेको ट्रकबाट सामान झार्ने क्रममा ट्रक उठाउँदा ११०० भोल्ट करेन्ट प्रवाह भइरहेको तारमा पर्यो । उक्त घटनामा गाडीको एउटा टायर नै ब्लास्ट भयो । तर, गाडी चालकलाई केही भएन भने अन्य सबै सिस्टम दुरुस्त रह्यो ।
उक्त घटनापछि यातायात कार्यालय वीरगंजका कर्मचारीले नै अनौठो माने । विद्युतीय गाडीको सुरक्षा तुलनात्मक रूपमा डिजेल/पेट्रोल गाडीकोभन्दा धेरै राम्रो रहेको उनीहरूले बताए ।
वीरगंज यातायात कार्यालयका ईभी प्राविधिक प्रमोद साह भन्छन्, ‘गाडी करेन्टमा पर्ने बित्तिकै सम्पूर्ण सिस्टम गाडीले आफैँ कटअफ गर्ने रहेछ । एक्कासी ठूलो भोल्टेज करेन्टमा पर्दा एउटा चक्कमा दबाब धेरै भएर पड्कियो । अन्य केही क्षति भएन । यसले ईभीहरू निकै सुरक्षित भएको देखायो ।
उक्त हेभी ट्रक नेपाल ल्याएको शसिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा भन्छन्, ‘कसैले पनि जानेर त्यत्रो करेन्टमा गाडी हाल्ने कुरा भएन । दुर्घटनाबस त्यस्तो भयो । तर, गाडी निकै सुरक्षित रहेछ । ठूलो क्षति हुन पाएन । त्यसमै खुसी छौं ।’
यातायात कार्यालय र बिक्रेता कम्पनीको कुराबाट ईभी ट्रकहरू निकै सुरक्षित रहेको बुझ्न सकिन्छ । अब छिट्टै यो ट्रक नेपालमा बिक्री सुरू हुने कम्पनीले जनाएको छ ।
कस्तो छ एक्ससीएमजीको हेभी ट्रक
सबैभन्दा पहिलो कुरा यो हेभी ट्रकमा चीनको निर्माण उपकरण तथा व्यावसायिक सवारीसाधन निर्माता एक्ससीएमजीले ४०० किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ ।
नेपाल अहिलेसम्म आएका कुनै पनि विद्युतीय साधनमा यति ठूलो ब्याट्री प्याक प्रयोग भएको थिएन । चीनमा विद्युतीय टिपर, कन्टेनर, ट्रक लगायतका साधन उत्पादन गर्दै आएको एक्ससीएमजीको यो ट्रक नेपाली भूगोल र सडक सुहाउँदो रहेको कम्पनीको दाबी छ ।
शसिला मोटर्सले यसको मूल्य भने अहिलेसम्म घोषणा गरिसकेको छैन । विशेषगरी निर्माण तथा सिमेन्ट उद्योगमा विद्युतीय टिपरको प्रयोग बढाउने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।

