अटो बजार ‘बुम’ : ४ महिनामै भित्रिए साढे ११ हजार कार, उठ्यो २० अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा अटोमोबाइल बजार गुलजार बनेको छ । समग्र अर्थतन्त्रमा शिथिलता कायमै रहे पनि सवारी साधनको बिक्री भने ह्वात्तै बढेको सरकारी तथ्यांकले देखाएको हो ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ४ महिना (साउन-कात्तिक)मै ११ हजार ६९० युनिट निजी कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय, डिजेल, पेट्रोल र हाइब्रिड सबै सवारीको संख्या हो ।

चालु आवमा गत वर्षको तुलनामा निजी कार आयात झण्डै दोब्बर अर्थात् ९६.२० प्रतिशतले बढेको हो । गत वर्ष ४ महिनामा कुल ५ हजार ७३२ युनिट निजी कार आयात भएको थियो ।

विभागका अनुसार चालु आवको ४ महिनामा ९ हजार ४८ युनिट ईभी, २३०२ युनिट पेट्रोल, २६७ युनिट डिजेल र युनिट पेट्रोल हाइब्रिड ७३ युनिट कार, जीप, भ्यान आयात भएका छन् ।

चालु आवको ४ महिनमा कुल २३ अर्ब ५० करोड रुपैयाँ बराबरको सवारी आयात भएको हो । यसबाट सरकारले कुल २० अर्ब १२ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

ईभीको हिस्सा ७७ प्रतिशत पुग्यो

कार बजारको आकार बढेसँगै ईभीको हिस्सा पनि बढ्दै गएको छ । विगत ५ वर्षदेखि बढ्दै गएको ईभीको प्रयोगले पछिल्ला वर्षहरूमा झन् रफ्तार समातेको हो ।

विभागको तथ्यांक अनुसार चालु आवको ४ महिनामा ईभीको हिस्सा ७७ प्रतिशत पुगेको छ । साढे ११ हजार बढी युनिट निजी कार आयात हुँदा ईभीको संख्या ९ हजार ४८ युनिट रहेको छ ।

४ महिनाको अवधिमा कुल २० अर्ब ३१ करोड रुपैयाँ बराबरको विद्युतीय कार आयात भएका छन् । जसबापत सरकारले १२ अर्ब ९ करोड रुपैयाँ राजस्व पाएको छ ।

आइस कारको राजस्व योगदान धेरै

चालु आवमा ७७ प्रतिशत ईभी आयात भए पनि राजस्वमा भने आइस कारको योगदान धेरै रहेको छ । २ हजार ६४२ आइस कार (पेट्रोल, डिजेल र आइब्रिड) आयात हुँदा ८ अर्ब ३० करोड राजस्व प्राप्त भएको छ । जुन ईभीको अनुपातमा निकै धेरै हो ।


Back_to_top