जेटोरको पहिलो ईभी चाँडै नेपाल आउने, किन छ खास ?

काठमाडौं । जेटोरको पहिलो प्योर इलेक्ट्रीक एसयूभी टीएक्स चीनमा आधिकारिक बिक्री सुरू भएको छ । चेरी ग्रुपको प्रिमियम एसयूभी ब्राण्ड जेटोरले आफ्नो पहिलो ईभी मोडल विभिन्न ५ भेरियन्टमा बिक्री थालेको हो ।

यसलाई कम्पनीले घोषणा गरेको मूल्यका कारण खास बनाएको छ । बक्सी डिजाइन एसयूभीको इन्ट्री भेरियन्टको मूल्य केबल ८९ हजार ९०० युआन (करिब १३ हजार ४०० अमेरिकी डलर) तोकेर बिक्री सुरू गरिएको हो । अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने टप भेरियन्टको मूल्य भने १ लाख २५ हजार ९०० युआन (करिब १८ हजार ८०० अमेरिकी डलर) तोकिएको छ ।

डिजाइन र साइज

जेटुर टीएक्स ‘स्क्वायर-सर्कल सिम्बायोसिस’ डिजाइन ल्यांग्वेजमा बनेको एसयूभी हो । बक्सी डिजाइन, गोलाकार हेडलाइट र त्यसलाई जोड्ने कालो ट्रिम उपलब्ध एसयूभीमा अगाडि १५० लिटर क्षमताको फ्रंक दिइएको छ ।

जेटोर टीएक्सको लम्बाइ ४४७५ एमएम, चौडाइ १८८० एमएम र उचाइ १७०० एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।


अफरोड तथा आउटडोर गतिविधिलाई ध्यानमा राखेर तयार गरिएको एसयूभीको एप्रोच एंगल यसमा २१ डिग्री र डिपार्चर एङ्गल २६ डिग्री दिइएको छ । यसमा २०० एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

टेक फिचरहरू

टीएक्सको इन्टेरियरमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा क्वालकम स्न्यापड्रागन ८१५५ र ८७७५ चिप प्रयोग गरिएको छ । कम्पनीको टुर ओएसमा आधारित इन्फोटेन्मेन्ट सिस्टमले भ्वाइस रिकग्निसन तथा ‘डोउबाओ’ लार्ज ल्यांग्वेज मोडललाई सपोर्ट गर्छ ।

टप भेरियन्टमा अगाडिका दुई सिटमा हिटिङ, भेन्टिलेसन र मसाज फङ्सन पाउन सकिन्छ । ‘फाल्कन ५०० प्लस’ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम उपलब्ध टप भेरियन्ट स्न्यापड्रागन ८७७५ चिपमा आधारित छ । यस सिस्टमले हाइवे तथा सिटीमा नेभिगेट अन अटो पाइलट, अटोमेटिक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता सुविधा प्रदान गर्छ ।


ब्याट्री, मोटर र रेन्ज

जेटोर टीएक्स रियर ह्वील ड्राइभमा २०० किलोवाट क्षमताको मोटर छ । यसको पीकटर्क २८५ न्यूटन मिटर छ । सबै भेरियन्टमा एउटै ६७.४ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ‘राइनो’ ब्याट्री प्रयोग गरिएको छ ।

अल ह्वील ड्राइभ भेरियन्टमा अगाडि र पछाडि गरी दुईवटा मोटर दिइएको छ । दुवै मोटरको संयुक्त पावर २७५ किलोवाट पावर र पीकटर्क ४२७ एनएम छ ।

पहिलो इलेक्ट्रीक मोडलमा जेटोरले अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट र पछाडि फाइभ लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरेको छ ।

छिट्टै नेपाल आउने

जेटोरको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले टीएक्स एसयूभी छिट्टै नेपाल ल्याउने जनाएको छ । सम्भवत सन् २०२७ को पहलिो क्वाटरबाट नेपालमा बिक्री सुरू भइसक्ने छ ।
‘हाम्रो प्रयास जतिसक्दो चाँडो नेपाल ल्याउने भन्ने हो । रियर ह्वील र अल ह्वील ड्राइभ दुवै अप्सनमा नेपाल आउने यो एसयूभी धेरैले सोध्न थालिसकेको मोडल हो,’ लक्ष्मी मोटरहब स्रोतले मेरोअटोसँग भन्यो ।

चीनमा उपलब्ध आकर्षक मूल्यको कारण नेपाली बजारमा पनि निकै आकर्षक मूल्यमा टीएक्स एसयूभी उपलब्ध हुने अनुमान गर्न सकिन्छ । तर, नेपालमा यसको मूल्य कति कायम हुन्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top