काठमाडौं । केही दिनदेखि स्टेयरिङ ह्वील लुकाउन मिल्ने एसयूभीको चर्चा भइरहेको थियो । त्यो एसयूभीमा रहेको फोल्ड गर्न मिल्ने स्टेयरिङ ह्वीललाई बीवाइडीले उत्पादनमा पनि निरन्तरता दिएको हो ।
बीवाइडीको फाङचेङ बाओ टी–९ एसयूभीको उत्पादन मोडलमै फोल्ड हुने स्टेयरिङ ह्वील दिएको हो । सुरुमा नोभेम्बर १९ मा चीनमा उक्त एसयूभीको स्टेयरिङ ह्वील आफैं ड्यासबोर्डभित्र फोल्ड हुने देखाइएको थियो ।
बीवाइडीका कार्यकारी उपाध्यक्ष हे झिचीका अनुसार यो प्रविधि भविष्यमा आउने लेभल–३ र लेभल–४ अटोनोमस ड्राइभिङलाई ध्यानमा राखेर विकास गरिएको हो । कम्पनीले सन् २०१६ देखि नै यस्तो अवधारणामा काम गर्दै आएको थियो ।
सन् २०१९ को सांघाई अटो शोमा प्रस्तुत ई-सिड जीटी कन्सेप्टमा पनि अटोनोमस ड्राइभिङका क्रममा स्टेयरिङ ह्वील ड्यासबोर्डभित्र लुक्ने प्रविधि देखाइएको थियो ।
बीवाइडीले टी९ एसयूभीमा देखाइएको सुविधा सडकमा गाडी गुडिरहेको समयमा प्रयोग गर्न मिल्दैन । तर, पार्किङ गरेपछि भने स्टेयरिङ ह्वील फोल्ड गर्न मिल्छ । जसले चालकलाई आरामगर्न निकै सहज हुनेछ ।
टी९ लाई पूर्ण रूपमा रोकेर गियर पार्क (ए) मोडमा राखेपछि मोटराइज्ड मेकानिजमले स्टेयरिङ ह्वीललाई १८० डिग्री घुमाएर ड्यासबोर्डभित्र फोल्ड गर्छ । यसरी स्टेयरिङ ह्वील लुकाउन करिब १० सेकेन्ड मात्रै लाग्ने कम्पनीको भनाइ छ ।
स्टेयरिङ ह्वील ड्यासबोर्डभित्र गएपछि चालकको सिट अगाडि २५ सेन्टिमिटरसम्म थप ठाउँ उपलब्ध हुन्छ । यसले चालकलाई लामो यात्राका क्रममा पार्किङ गरेर आराम गर्न सहज बनाउँछ । स्टेयरिङ ह्वील हटेपछि चालकको अगाडि सानो टेबलसमेत राख्न सकिने व्यवस्था गरिएको छ ।
टी९ मा रहेको फोल्डिङ स्टेयरिङ ह्वील रिमोट पार्किङका क्रममा पनि सक्रिय गर्न सकिन्छ । चालक गाडीबाट बाहिर निस्किएपछि रिमोटमार्फत पार्किङ गर्दा स्टेयरिङ ह्वील आफैं फोल्ड हुन्छ । त्यस्तै, पार्किङबाट बाहिर निस्कने क्रममा पुनः आफ्नो स्थानमा फर्किन्छ ।
यो प्रविधि सम्भव बनाउन बीवाइडीले टी९ मा स्टेयर-बाइ-वायर प्रणाली प्रयोग गरेको छ ।
बीवाइडीले स्टेयरिङ प्रणालीमा विभिन्न ब्याकअप व्यवस्था राखेको जनाएको छ । कम्पनीका अनुसार फोल्डिङ मेकानिजमलाई माइनस ३० डिग्रीदेखि ८५ डिग्री सेल्सियससम्मको तापक्रममा ९६ हजार पटक परीक्षण गरिएको थियो ।

