आयो नयाँ पल्सर आरएस २००, थपिए यी फिचर

काठमाडौं । बजाजले भारतमा पल्सर सिरिज अन्तर्गत रहेको आरएस २०० मोटरसाइकलको नयाँ भर्सन लन्च गरेको छ । बजाज अटोले आफ्नो लोकप्रिय पल्सर सिरिजलाई क्रमशः अपडेट गर्ने क्रममा नयाँ आरएस २०० मोडलाई पनि अपग्रेड गरेकोे हो ।

कम्पनीले भारतीय बजारमा नयाँ आरएस २०० मोटरसाइकलको मूल्य १ लाख ९८ हजार ४४१ भारु (एक्स-शोरुम दिल्ली) तोकेर बिक्री सुरू गरेको हो ।

नयाँ आरएस २०० मा इन्जिन, इलेक्ट्रोनिक्स, सस्पेन्सन र इन्स्ट्रुमेन्ट कन्सोलमा उल्लेख्य परिमार्जन गरिएको छ । अपडेट गरिएको आरएस २०० मा अब २५.५ पीएस पावर उत्पादन गर्ने इन्जिन सेटअप दिइएको छ । यसअघि मोटरसाइकलको पीएस पावर २४.५ रहेको थियो ।

मोटरसाइकलमा नयाँ इलेक्ट्रोनिक थ्रोटल बडी (ईटीबी) थपिएको छ, जसले विभिन्न राइडिङ मोड उपलब्ध गराउँछ । यद्यपि कम्पनीले राइडिङ मोडको नाम र तिनको कार्यक्षमता बारे विस्तृत जानकारी दिएको छैन ।

नयाँ मोडलमा ट्रयाक्सन कन्ट्रोल र स्पोर्टस् सिफ्टर पनि थपिएको छ । यी फिचरले मोटरसाइकलको स्लिप नियन्त्रण तथा गियर परिवर्तनलाई सहज बनाउने छन् ।

सस्पेन्सनतर्फ नयाँ आरएस २०० मा ३७ एमएमको यूएसडी फ्रन्ट फर्क दिइएको छ । यसअघि यसमा टेलिस्कोपिक फर्क प्रयोग गरिएको थियो । यसमा रियर टायर पनि नयाँ र ठूलो छ ।

मोटरसाइकलको अर्को मुख्य परिवर्तन यसको इन्स्ट्रुमेन्ट कन्सोलमा गरिएको छ । पुरानो कलर एलसीडी डिस्प्लेको स्थानमा अब नयाँ ५ इन्चको टीएफटी डिस्प्ले राखिएको छ । यसमा गुगल म्याप्स मिररिङ सुविधा उपलब्ध छ । जसले नेभिगेसन सम्बन्धी जानकारी सिधै डिस्प्लेमा देखाउँछ ।

नयाँ आरएसमा एड्जस्टेबल ब्रेक एण्ड क्लच लिभर, चार्जिङ पोर्ट, ह्याजार्ड स्विच र प्यानिक ब्रेक अलर्ट पनि दिइएको छ । प्यानिक ब्रेक अलर्ट फिचरले अचानक ब्रेक लगाउँदा पछाडिबाट आउने सवारीलाई सचेत गराउन सहयोग गर्छ ।

बजाजका अनुसार यी अपडेटले आरएस २०० लाई थप आधुनिक बनाउनुका साथै राइडरलाई नियन्त्रण, सहजता र कनेक्टिभिटीका थप सुविधा प्रदान गर्नेछन् । नयाँ पावर आउटपुट, इलेक्ट्रोनिक थ्रोटल, ट्र्याक्सन कन्ट्रोल, यूएसडी फर्क र टीएफटी डिस्प्लेसहित अपडेट भएको आरएस २०० ले स्पोर्टी फुल्ली फेयर्ड डिजाइनलाई भने पुरानै निरन्तरता दिएको छ ।


Back_to_top