पृथ्वी राजमार्ग दैनिक ५ घण्टा सडक बन्द, घोप्टेभीरको जोखिम कम गरिँदै

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्ड अन्तर्गत घोप्टेभिर पहिरोको जोखिम न्यूनीकरणको काम सुरू गरिएको छ ।

विगत केही सातादेखि घोप्टेभीरमा लगातार सुख्या पहिरो झरिरहेको छ । पहिरोले पुर्याउनसक्ने क्षतिलाई मध्येनजर गर्दै शनिबारदेखि दैनिक ५ घण्टा सडक बन्द गरेर जोखिमपूर्ण भाग झार्न थालिएको हो ।

नागढुंगा-मुग्लिन सडक आयोजना (पश्चिम खण्डका अनुसार बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी आवगमन रोकेर धमाधम ढुंगामाटो हटाउने काम भइरहेको छ ।

आयोजनाका सूचना अधिकारी सचेन्द्र मिश्रले घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्याई आजदेखि डाँडाको जोखिमपूर्ण र झर्न सक्ने ढिस्को काट्न थालिएको बताए । १०० मिटर अग्लो उक्त डाँँडा तहगत रुपमा कटान गरिने उनले बताए ।

त्यस्तै, चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गरिने छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँचदिन भित्रमा काम सक्ने गरी सवारी रोकेर निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भागलाई झार्न लागिएको उनको भनाइ छ ।


Back_to_top