काठमाडौं । भारतीय मोटरसाइकल निर्माता हिरो मोटोकर्पले २५० सीसी सेग्मेन्टमा नयाँ स्क्रयाम्बलर मोडल ल्याउने भएको छ ।
कम्पनीले हालै इटालीमा सम्पन्न इक्मा अटोशो २०२६ मा २५० सीसी क्षमताको स्क्रयाम्बलर मोडलको कन्सेप्ट देखाएको हो ।
कन्सेप्ट अनुसार मोटरसाइकल रग्ड डिजाइन, अफरोडमैत्री फिचर र आकर्षक लुक्सको रहेको छ । क्लासिक स्क्र्याम्बलर डिजाइनमा तयार गरिएको यो मोटरसाइकलमा अग्लो विन्डस्क्रीन, ह्याण्डगार्ड, ठूलो फ्रन्ट फेण्डर र स्पोक ह्वील दिइएको छ । स्लिम फ्युल ट्यांकसँग जोडिएको क्विल्टेड सिंगल पिस सिट, रातो बडी कलर र गोल्डेन रिमले यसको लुक्सलाई थप आकर्षक बनाएको छ ।
स्क्रयाम्बलर २५० कन्सेप्टमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील प्रयोग गरिएको छ । दुवै ह्वीलमा पीइरेलिका डुअल पर्पस टायर दिइएको छ । सस्पेन्सनका लागि अगाडि यूएसडी फोर्क र पछाडि मोनोशक राखिएको छ । त्यस्तै, अफरोड राइडिङका क्रममा इन्जिनलाई सम्भावित क्षतिबाट जोगाउन ब्यास प्लेटसमेत उपलब्ध छ ।
हिरोले यसको इन्जिन बारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन । यद्यपि, यसमा एक्सट्रीम २५० आरमा प्रयोग भएको २४९ सीसी लिक्विड कुल्ड इन्जिन रहने अनुमान गरिएको छ । यसमा राउण्ड डिजाइनको टीएफटी कन्सोल दिइएको छ । जुन हार्ले एक्स ४४० मा प्रयोग गरिएको कन्सोलसँग मिल्दोजुल्दो देखिन्छ ।
हालसम्म कम्पनीले स्क्रयाम्बलर २५० उत्पादन बारे पनि कुनै जानकारी दिएको छैन । यो उत्पादनमा जान्छ वा कन्सेप्टमै सीमित रहन्छ भन्ने भविष्यमा थाहा हुनेछ ।

