काठमाडौं । पछिल्लो समय इलेक्ट्रीक स्कुटर खरिद गर्ने ग्राहकले रेन्ज, ब्याट्री क्षमता र मूल्यसँगै आधुनिक फिचरलाई पनि छनोटको आधार बनाउन थालेका छन् ।
आधुनिक फिचरले स्कुटर चलाउन सहज बनाउनुका साथै सुरक्षा, पर्फमेन्स र राइडिङ अनुभवमा समेत सुधार ल्याउने भएकाले ग्राहकले प्राथमिकतामा राख्न थालेका हुन् ।
त्यसैलाई मध्येनजर गर्दै उत्पादकहरुले पनि आफ्ना प्रोडक्ट फिचर लोडेड बनाइरहेका छन् । हाल अधिकांश ब्राण्डले आफ्ना उत्पादनमा हिल होल्ड कन्ट्रोल, फल सेन्सर, मल्टिपल राइडिङ मोड, क्रुज कन्ट्रोल, रिभर्स मोड, ट्रयाक्सन कन्ट्रोल सिस्टम लगायत आधुनिक सेफ्टी फिचर उपलब्ध गराउन थालेका छन् । यद्यपि, यस्ता फिचर सबैमा नभई प्रिमियम तथा माथिल्लो सेग्मेन्टका स्कुटरहरूमा उपलब्ध हुन्छन् ।
अहिले इलेक्ट्रीक स्कुटरमा खोजिने मध्ये एक प्रमुख फिचर हो, क्रुज कन्ट्रोल । विशेषगरी लामो दूरीको यात्रामा उपयोगी हुने क्रुज कन्ट्रोल फिचरले स्कुटरलाई निश्चित गतिमा चलाउन सहज बनाउँछ । जसले चालकलाई आरामा दिनुका साथै यात्रालाई सहज बनाउँछ ।
नेपालमा २ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर उपलब्ध भए पनि सबैमा यो फिचर उपलब्ध छैन् । यहाँ हामीले नेपालमा उपलब्ध क्रुज कन्ट्रोल फिचर भएका ३ इलेक्ट्रीक स्कुटरको बारेमा चर्चा गरेका छौं ।
१. टीभीएस अर्बिटर
टीभीएस अर्बिटर नेपालमा उपलब्ध क्रुज कन्ट्रोल फिचर भएको इलेक्ट्रीक स्कुटरमध्ये एक हो । यसको मूल्य २ लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ । जगदम्बा मोटर्सले बिक्री गर्दै आइरहेको अर्बिटर स्कुटरमा ३.१ बिलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र २.५ बिलोवाट क्षमताको मोटर दिइएको छ ।

कम्पनीका अनुसार यसले एकपटक फुल चार्जमा १५८ किलोमिटरसम्मको आईडीसी रेन्ज प्रदान गर्छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघण्टा रहेको छ ।
स्कुटरको मुख्य आकर्षण ३४ लिटर क्षमताको अन्डरसिट स्टोरेज हो । यसमा क्रुज कन्ट्रोलसँगै हिल होल्ड असिस्ट, रिभर्स पार्किङ असिस्ट, पूरा एलईडी लाइट, डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न बाइ टर्न नेभिगेसन लगायतका फिचरहरू उपलब्ध छन् ।
२. एथर ४५० एक्स
एथरको ४५० सिरिज अन्तर्गतको ४५० एक्स आर ३५ टप भेरियन्टमा पनि इनफाइनाइट (सिटी क्रुज) दिइएको छ । यो नेपालमा उपलब्ध प्रिमियम इलेक्ट्रीक स्कुटर मध्य एक हो ।
४५० एक्स आर ३५ मा ३.५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले एकपटक फुलचार्जमा १६१ किलोमिटरसम्मको आईडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

यसमा ७ किलोवाट क्षमताको पिक पावर भएको इलेक्ट्रीक मोटर छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । वैद्य अर्गनाइजेसनले यो स्कुटरको मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ तोकेको छ ।
यसमा पूरा एलईडी लाइट, म्याजिक ट्विस्ट, ट्रयाक्सन कन्ट्रोल, अटो होल्ड र पार्क असिस्टजस्ता सुविधा पाइन्छन् । यसमा २२ लिटर क्षमताको अन्डरसिट स्टोरेज र ७ इन्चको टचस्क्रीन ड्यासबोर्ड पनि उपलब्ध छ । गुगल म्याप्स नेभिगेसन र स्मार्टफोन कनेक्टिभिटीले यसको प्रयोगलाई थप सहज बनाउँछ ।
३. एनआईयू गोभा ३
एनआईयू गोभा ३ नेपाली बजारमा उपलब्ध क्रुज कन्ट्रोल भएको अर्को इलेक्ट्रीक स्कुटर हो । अन्य दुई स्कुटरको तुलनामा यसको नाम कम सुनिए पनि यसमा क्रुज कन्ट्रोल जस्तो उपयोगी फिचर दिइएको छ ।

नेपालमा एनआईयूको वितरक इको इन्फिनिटीले गोभा ३ स्कुटरको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ । यसमा ६० भोल्ट ४० एम्पियर क्षमताको लिथियम ब्याट्री र ३ हजार वाटको म्याक्सिमम पावर भएको मोटर दिइएको छ । कम्पनीका अनुसार यसले एकपटक फुलचार्जमा ९० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसको टप स्पीड ६५ किलोमिटर प्रतिघण्टा छ ।
यसमा क्रुज कन्ट्रोलका अलावा दुईवटा राइडिङ मोड, स्मार्ट ड्यासबोर्ड, जीपीएस एन्टी थेफ्ट, पूरा एलईडी लाइट, हलो हेडलाइट, स्मार्ट एप कनेक्टिभिटी र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमजस्ता फिचर उपलब्ध छन् ।
यी तीनवटै स्कुटरमा क्रुज कन्ट्रोल उपलब्ध भए पनि ब्याट्री क्षमता, रेन्ज, मूल्य र अन्य सुविधाका हिसाबले फरक छन् । त्यसैले ग्राहकले आफ्नो बजेट र आवश्यकता अनुसार उपयुक्त मोडल छनोट गर्नु उपयुक्त हुन्छ ।

