कमजोर हुँदै ६० देखि ७० लाख पर्ने ईभीको प्रतिस्पर्धा

काठमाडौं । मूल्यका हिसाबले ६० लाखदेखि ७० लाख रुपैयाँसम्मको सेग्मेन्ट तुलनात्मक रूपमा कमजोर हुँदै गएको देखिन्छ । यो सेग्मेन्ट सुरूमा निकै बलियो देखिए पनि क्रमशः कमजोर बन्दै गएको हो ।

कुनै समय दीपल एस-०७, लीपमोटर सी-१० र जेको जे ६ मोडलले निकै उचालेको यो सेग्मेन्ट अहिले केही सुस्त देखिन्छ ।

अहिले यो सेग्मेन्टमा सीमित मोडल मात्रै छन् । भएका मोडलमा पनि एकाध छाडेर अन्यको बिक्री खासै बलियो देखिँदैन । यो सेग्मेन्टमा सदावहार बलियो देखिएको बीवाइडी एटो थ्री अहिले पहिले जस्तो बलियो छैन । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको अवधिमा १८३ युनिट एटो थ्री नेपाल आएको देखिन्छ ।

संख्यात्मक हिसाबले अहिले यो सेग्मेन्टको सबैभन्दा बलियो मोडल दीपल एस-०५ देखिएको छ । चालु आर्थिक वर्षको ४ महिनामा २७० युनिट दीपल एस-०५ नेपाल आएको छ । दीपलका उत्पादन एमएडब्लू वृद्धिले आयात तथा बिक्री बितरण गर्दै आएको छ ।

दोस्रो बलियो मोडल जेको जे६ टी देखिन्छ । एसपीजी अटोमोबाइल्सले चालु आर्थिक वर्षको पहिलो चार महिनामा २२९ युनिट जे६ नेपाल ल्याएको देखिन्छ ।

यो सेग्मेन्टको अर्को प्रतिस्पर्धी हो हुन्डाई क्रेटा ईभी । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात र बिक्री गर्दै आएको क्रेटा ईभी चार महिनाको अवधिमा ८१ युनिट आयात भएको छ ।

महिन्द्राले असोजबाट आयात थालेको एक्सईभी ९ एस ७ सिटे इलेक्ट्रीक एसयूभी पनि ठिकठाक आयात भएको देखिन्छ । दुई महिनामै ७५ युनिट एक्सईभी ९ एस नेपाल आएको हो ।

अग्नि इनकर्पोरेटले बिक्री गर्ने बीई ६ एसयूभी भने १ युनिट मात्रै आयात भएको देखिन्छ ।

यही सेग्मेन्टका केहीको मूल्य बढ्यो । सरकारले नयाँ करको सिलिङ निर्धारणपछि लिपमोटर सी १०, दीपल एस ०७, एमजी एस ६ जस्ता मोडलको मूल्य बढ्यो । त्यसमा दीपल एस-०७ र लीपमोटर सी-१० त आयात नै हुन सकेका छैनन् ।

बजारमा आउन तयार यही सेग्मेन्टको टाटा सियरा ईभी पनि मूल्य कै कारण बिक्री सुरू भएको छैन ।


Back_to_top