एमएडब्लूले नेपाल ल्यायो ‘फरथिङ टाइकोन-५’, रेन्ज ५०० किलोमिटर

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ अन्तर्गतको फरथिङ ब्राण्डमा नयाँ विद्युतीय एसयूभी टाइकोन-५ नेपाली बजारमा प्रवेश गरेको छ । अहिले सडक परीक्षणका लागि आएको टाइकोन-५ आगामी जनवरी अन्तिमसम्ममा बिक्री सुरू हुने भएको हो ।

एमएडब्लू वृद्धि स्रोतका अनुसार सन् २०२७ जनवरीदेखि यसको बिक्री सुरू हुनेछ । नयाँ पुस्ताको प्योर इलेक्ट्रीक भेहिकल प्लेटफर्ममा बनेको कारण टाइकोन-५ ले अष्ट्रेलिया लगायतका बजारमा राम्रो चर्चा बटुलिरहेको छ ।

फरथिङ टाइकोन-५ आकर्षक डिजाइन, शक्तिशाली मोटर, फास्ट चार्जिङ क्षमता र आधुनिक प्रविधिका कारण नेपाली उपभोक्ताले पनि रुचाउने एमएडब्लू वृद्धिले विश्वास ब्यक्त गरेको छ । विशेषगरी ८०० भोल्ट आर्किटेक्चरमा आधारित भएको कारण यो एसयूभी तीव्र गतिमा चार्ज हुनेछ ।

कम्पनीले टाइकोन-५ मा ७५ किलोवाट आवरको ब्याट्री र २०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । जसको डब्लूएलटीपी रेन्ज ५०० किलोमिटर हुने कम्पनीको दाबी छ । यसलाई १६ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसले १६० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ ।

यसको २०० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ इलेक्ट्रीक मोटरले उच्च पावर प्रदान गर्छ । रियर ह्वील ड्राइभ सिस्टम भएका कारण ड्राइभिङ अनुभव पनि फरक रहनेछ ।


फरथिङ टाइकोन-५ को इन्टेरियर पनि राम्रो देखिएको छ । यसमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

टाइकोन-५ को ड्यासबोर्डमा टु स्पोक स्टेयरिङ ह्वील प्रयोग गरिएको छ । गियर सिफ्ट गर्ने नब स्टेयरिङ कोलुममै राखिएको छ । सबै काम टचस्क्रीनबाटै गर्नुपर्ने झन्झट कम गर्न केही फिजिकल बटनहरू प्रयोग गरिएको छ ।

यसमा ड्राइभर एटेन्सन मोनिटरिङ क्यामेरा उपलब्ध छ । त्यस्तै, डस्ट सेन्सिङ अटोमेटिक एलईडी हेडल्याम्प, रेन सेन्सिङ वाइपर र १९ इन्चको फाइभ स्पोक अलोय ह्वील दिइएको छ ।

फरथिङ टाइकोन-५ मा आरामदायी यात्रालाई ध्यान दिँदै अगाडिका सिटमा भेन्टिलेसन र मसाज फङ्सन उपलब्ध गराइएको छ । ड्युअल जोन क्लाइमेट कन्ट्रोल सिस्टमले चालक र अगाडिको यात्रुलाई आफ्नो आवश्यकता अनुसार तापक्रम मिलाउन सहयोग गर्छ ।

सुरक्षाका लागि फरथिङ टाइकोन-५ मा ६ वटा एयरब्याग उपलब्ध छन् । यसमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) अन्तर्गत विभिन्न सुरक्षा प्रविधि समावेश गरिएको छ ।

यसमा अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एईबी), एडाप्टिभ क्रुज कन्ट्रोल (एसीसी), लेन किप एसिस्ट (एलकेए) र ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम (बीएसएम) जस्ता फिचर छन् । यी प्रविधिले सडकमा सम्भावित जोखिम पहिचान गर्न, अगाडिको सवारीसँग सुरक्षित दूरी कायम राख्न र लेनमा गाडीलाई व्यवस्थित राख्न सहयोग गर्छन् ।


Back_to_top