काठमाडौं । जिली ग्रुपको स्वामित्वमा रहेको लिंक एण्ड कोले उत्पादन गरेको ‘०७ जीटी’लाई पहाडबाट खसालेर परीक्षण गरेको छ । सुन्दै अनौठो लाग्ने यो परीक्षण अहिले विश्वभर चर्चामा छ ।
उसोत चिनियाँ अटोमोबाइल कम्पनीहरूले आफ्ना गाडीको क्षमता र प्रविधि प्रदर्शन गर्न नयाँ-नयाँ प्रयोग गरिरहेका छन् ।
केही समयअघि बीवाइडीले आफ्नो हाइपरकार याङवाङ यू ९ एक्स्ट्रिममार्फत ५०३.१७ किलोमिटर प्रतिघण्टाको उच्च स्पीड हासिल गर्दै तीव्र गतिको कारको विश्व कीर्तिमान बनाएको थियो ।
अहिले पहाडबाट खसालेर परीक्षण गरिएको ०७ जीटी उत्पादन मोडल नै भएको कम्पनीले जनाएको छ । परीक्षणका क्रममा गाडीलाई ७० किलोमिटर प्रतिघण्टाको स्पीडमा र्याम्पबाट भीरको किनार हुँदै हावामा उडाएर तल खसालिएको थियो ।
जमिनमा खस्दा गाडीको अगाडिको भाग पहिले ठोक्किएको थियो । त्यसपछि गाडी धेरै पटक उफ्रिँदै र पल्टिँदै अन्ततः चारवटै पाँग्रामा अडिएर रोकिएको भिडियोमा देखिन्छ ।
यति ठूलो दुर्घटना गराएपछि पनि गाडीका चारवटै ढोका सहजै खोल्न सकिएको थियो । त्यस्तै, गाडीका साइड विन्डो र अगाडिको विन्डसिल्ड पनि सुरक्षित रहेको देखिन्छ । पानोरामिक ग्लास रूफमा भने चिरा परेको थियो । तर, छत भित्रतर्फ भासिएको थिएन ।

कम्पनीका अनुसार दुर्घटनाका क्रममा सक्रिय भएका साइड कर्टेन एयरब्यागले ६ सेकेण्डभन्दा बढी समयसम्म आफ्नो प्रेसर कायम राखेका थिए । यसले दुर्घटनापछि यात्रु सुरक्षाका लागि एयरब्यागले कसरी राम्रोसँग काम गर्छ भन्ने देखाएको कम्पनीको दाबी छ ।
लिंक एण्ड को ब्राण्डमा उत्पादन भएको स्टेसन वागन ०७ जीटी नियमित ०७ मोडलमा आधारित भएर उत्पादन भएको हो । आकर्षक हेडलाइट, स्पोर्टी टेललाइट र एग्रेसिभ बडी डिजाइन यसको बलियो पक्ष हो ।
लिंक एण्ड को ०७ जीटीमा ईएम-पी हाइब्रिड पावरट्रेन प्रयोग गरिएको छ । यसमा १.५ लिटरको टर्बोचाज्र्ड फोर सिलिण्डर पेट्रोल इन्जिनसँग दुईवटा विद्युतीय मोटर दिइएको छ ।

