कार किन्न फिक्स्ड र फ्लोटिङ ब्याजदर मध्ये कुन सस्तो पर्छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किन्ने योजनामा रहेकालाई अहिले सबैभन्दा उपयुक्त समय हो । किनभने, अहिले बैंकहरूको बेसरेट इतिहासकै सस्तो अर्थात् औसतमा ४.६९ प्रतिशतमा झरेको छ । बैंकहरूले बेसरेटमा न्यूनतम ०.५ देखि १ प्रतिशत प्रिमियम जोडेर कर्जा दिन थालेका छन् । जसकारण सजिलै ५/५.५ प्रतिशत ब्याजदरमा अटो कर्जा पाउने अवस्था छ ।

नेपाल राष्ट्र बैंकले वि.सं. २०६८ फागुनदेखि आधिकारिक रूपमा कर्जाको मासिक औसत ब्याजदर सार्वजनिक गर्न थालेको थियो । त्यसलाई आधार मान्दा अहिले बैंकको ब्याजदर इतिहासकै भएको हो ।

अहिले सवारी किन्न सुरुमा तपाईंसँग सवारीको मूल्यको ४० प्रतिशत रकम भए पुग्छ । बाँकी ६० प्रतिशत बैंकहरुले ऋण दिएर
तपाईंंको गाडी चढ्ने सपना पूरा गरिदिन्छन् । ७ वर्षसम्मका लागि ऋण पाइन्छ । यद्यपि, तपाईंंको किस्ता तिर्नसक्ने आम्दानीरक्षमता भने हुनुपर्दछ ।

किस्ताबन्दीमा सवारी खरिद गर्दा ब्याजदरमा दुई विकल्प पाइन्छ । बैंकहरूले सवारी किन्ने ग्राहकलाई स्थिर (फिक्स्ड) र परिवर्तनशील (फ्लोटिङ) दुवै ब्याजदरमा कर्जा उपलब्ध गराउँछन् । कुन ब्याजदरमा कर्जा लिने ग्राहक स्वयम्को रोजाइ हो ।

स्थिर ब्याजदर प्रयोगमा आएको ६ वर्ष मात्र भएको छ । नेपाल राष्ट्र बैंकले २०७७ कात्तिकदेखि कार्यान्वयनमा ल्याएको थियो । यस ब्याजदरमा कर्जा लिँदा कर्जा अवधिभर ब्याजदर एउटै रहन्छ । अर्थात् तपाईंंले पूरै ऋण नतिरुन्जेलसम्म एउटै ब्याजदर तिर्नुपर्छ । बैंकको ब्याजदर बढे/घटे पनि तपाईंंलाई असर गर्दैन् । मासिक किस्ता पनि एउटै हुन्छ ।

तपाईंंलाई आफ्नो मासिक आम्दानीबाट ठ्याक्कै यति रकम किस्ता तिर्नुपर्छ भन्ने पहिल्यै थाहा हुन्छ । जसले भविष्यका आर्थिक योजना बनाउन समेत सहयोग गर्छ । यद्यपि, स्थिर ब्याजदर परिवर्तनशीलभन्दा केही महँगो हुन्छ । बजारमा ब्याजदर घट्दो ट्रेन्डमा छ भने घाटा लाग्न सक्छ । ब्याजदर बढ्दो क्रममा रहेका बेला फाइदा हुन्छ । हाल बैंकहरूले कर्जा अवधिका आधारमा ७ देखि १० प्रतिशतको स्थिर ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन् ।

परिवर्तनशील ब्याजदर प्रणाली वषौंदेखि प्रयोगमा छ । यसमा बैंकहरूले आफ्नो बेसरेटमा निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । हाल न्यूनतम ०.५ देखि ५ प्रतिशतसम्म प्रिमियम जोड्छन् । यसमा बजार ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने हुन्छ ।

सुरूमा ऋण लिँदा फ्लोटिङ ब्याजदर फिक्स्डभन्दा केही सस्तो हुन्छ । तर, बजारमा तरलता अभाव भई ब्याजदर बढ्दै गएमा तपाईंंको ब्याजदर पनि बढ्छ । यसले मासिक किस्ता पनि बढाउँछ । तपाईंंको निश्चित आम्दानी छ भने मासिक किस्ता ठ्याक्कै यति हुन्छ भन्ने निश्चित नहुने भएकाले आर्थिक भार थपिन्छ ।

कुनमा कति तिर्नुपर्छ ?

कुन ब्याजदर सस्तो पर्छ भन्ने थाहा पाउन एउटा उदाहरण हेरौं । तपाईंले बैंकबाट ऋण लिएर ४५ लाख रुपैयाँ पर्ने एउटा कार किन्दै हुनुहुन्छ । जुनसुकै ब्याजदरमा किने पनि सुरूमा ४० प्रतिशत अर्थात १८ लाख रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्छ । बाँकी २७ लाख रुपैयाँ कर्जा लिनुपर्छ ।

अहिले ७/७.५ प्रतिशत स्थिर ब्याजदरमा अटो कर्जा पाइन्छ । ७.५ प्रतिशतको आधारमा हिसाब गर्दा तपाईंंले ७ वर्षमा कुल ७ लाख ७५ हजार हजार रुपैयाँ बढी ब्याज तिर्नुपर्छ । मासिक किस्ता साढे ४१ हजार रुपैयाँ हाराहारी तिर्नुपर्छ । कर्जा अवधिभर एउटै किस्ता रहन्छ ।

त्यस्तै, परिवर्तनशील ब्याजदरमा कर्जा लिने हो भने अहिले ५.५/६ प्रतिशत ब्याजदरमा सहजै कर्जा पाउने अवस्था छ । ५.५ प्रतिशतमा हिसाब गर्दा अहिले मासिक किस्ता ३८ हजार ८०० रुपैयाँ पर्न आउँछ । २ वर्षसम्म यही ब्याजदर कायम रहे यस अवधिमा २ लाख ६२ हजार ब्याज तिर्नुपर्छ । त्यसपछि ब्याज बढेर ७र८ प्रतिशत पुग्यो भने बाँकी अवधि मासिक किस्ता बढेर ४२ हजार पुग्छ । बढेको ब्याजदर अर्को ३ वर्षसम्म उही रहे सो अवधिमा थप ३ लाख ७० हजार ब्याज तिर्नुपर्छ । छैटौं वर्षमा फेरि ब्याज बढेर १० प्रतिशत पुग्यो भने मासक किस्ता ४४ हजार ८०० पुग्छ । बाँकी अवधिमा १ लाख ३ हजार ब्याज तिर्नुपर्छ । समग्रमा ७ लाख ४० हजार ब्याज तिर्नुपर्छ ।

यहाँ समग्रमा फ्लोटिङ ब्याजदर केही सस्ताे पर्न जाने देखिन्छ । यद्यपि, ब्याजदर हामीले मानेभन्दा बढेमा फिक्स्डभन्दा फ्लोटिङ महँगो पर्न जान्छ ।

कुन ब्याजदरमा किन्दा फाइदा ?

नेपालमा अहिले बैंकको ब्याजदर इतिहासकै सस्तो छ । बैंकको औसत बेसरेट नै ४.६९ प्रतिशतमा झरेको छ । प्रणालीमा अधिक तरलता र कर्जाको माग न्यून रहेकाले अझै एकरडेढ वर्ष ह्वात्तै बढिहाल्ने अवस्था देखिँदैन । यस्तोमा तपाईंंले ४/५ वर्षभन्दा कम अवधिको लागि कर्जा लिँदै हुनुहुन्छ भने परिवर्तनशील ब्याजदरमा कर्जा लिँदा फाइदा देखिन्छ । यद्यपि, बेसरेट हरेक महिना परिवर्तन भइरहन्छ । ३ महिनाको औसत बेसरेटमा प्रिमियम जोडर तपाईंंको कर्जामा हिसाब हुन्छ ।

यदि ५ वर्षभन्दा बढी समयका लागि कर्जा लिँदै हुनुहुन्छ भने स्थिरब्याजदर नै उपयुक्त देखिन्छ । किनभने अहिले कर्जाको ब्याजदर निकै तल्लो स्तरमा आएको छ । यहाँभन्दा खासै धेरै घट्ने ठाउँ देखिँदैन । आगामी दिनमा अर्थतन्त्र चलायमान हुँदै जाँदा कर्जाको माग बढ्ने र ब्याजर पनि उकालो लाग्न सक्छ । ३/४ वर्षअघि कर्जाको ब्याजदर १६/१७ प्रतिशतसम्म पुगेको थियो । १/२ वर्षमै सो बिन्दुमा नपुगे पनि केही वर्षपछि पुनः बढ्न सक्ने देखिन्छ । सोबेला फ्लोटिङभन्दा फिक्स्ड ब्याजदर निकै सस्तो पर्न जान्छ ।

कुन ब्याजदरमा ऋण लिने भन्ने तपाईंंको आफ्नो इच्छामा भर पर्छ । आफ्नो नियमित आम्दानीको स्रोत, रिक्स लिने क्षमताले निर्धारण गर्छ ।


Back_to_top