सिप्रदीले भारतमा ६ महिने प्राविधिक तालिम दिने, आवेदन खुला

काठमाडौं । सिप्रदी ट्रेडिङले युवाहरूलाई अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्ति बनाउने उद्देश्यसहित ६ महिने प्राविधिक तालिम कार्यक्रम ‘स्किल प्रो’ संचालन गर्ने भएको छ ।

टाटा मोटर्सको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन हुने उक्त कार्यक्रमका लागि इच्छुक नेपाली युवाबाट आवेदन माग गरिएको छ ।

तालिम भारतको जमशेदपुरस्थित टाटा मोटर्स सर्भिस ट्रेनिङ सेन्टर (टाटानगर) मा संचालन हुनेछ । कार्यक्रममा टाटा बीएस सिक्स मापदण्डका बस तथा ट्रकसम्बन्धी प्राविधिक सीप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस तालिमका लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेका युवाले आवेदन दिन सक्नेछन् । अटोमोबाइल विषयमा टीएसएलसी उत्तीर्ण गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सिप्रदीले निकालेको सूचनामा उल्लेख छ ।

तालिम पूरा गरेपछि सहभागीले सिप्रदीमा ६ महिना ओजेटी (अन द जब ट्रेनिङ) गर्ने अवसर पाउनेछन् । कार्यसम्पादनका आधारमा उनीहरूलाई रोजगारीको अवसरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

तालिममा सहभागी हुन इच्छुकले सिप्रदीका विभिन्न शाखाबाट आवेदन फाराम लिन सक्नेछन् । साथै, कम्पनीले सार्वजनिक गरेको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरेर पनि आवेदन दिन सकिनेछ ।


Back_to_top