काठमाडौं-भैरहवा-लखनऊ हवाई मार्ग दुईतर्फी बनाउन भारत सहमत

काठमाडौं । काठमाडौ–भैरहवा–लखनऊ हवाई मार्ग दुईतर्फी बनाउन भारत सहमत भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले भैरहवाको एयररूटलाई दुईतर्फी बनाउन सहमति जनाएको हो ।

दुवै देशका प्रधानमन्त्रीको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा एयररूट बारे उल्लेख गरिएको हो । ‘प्रधानमन्त्रीहरूले हवाई सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक उड्डयन सम्बन्धी विषयमा भइरहेको छलफललाई ध्यानमा लिएका छन् । दुवै पक्ष विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुई पक्षीय बनाउने विषयमा सहमत भएका छन् । यस सम्बन्धमा आवश्यक प्रक्रिया तथा कार्यविधिलाई अन्तिम रूप दिन र हाल छलफलमा रहेका दुवै पक्षका नागरिक उड्डयन सम्बन्धी अन्य प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ,’ जारी संयुक्त वक्तव्यमा भनिएको छ ।

नेपालले लामो समयदेखि थप हवाई रुट माग गर्दै आए पनि भारतले आनाकानी गर्दै आएको थियो । भारतले नयाँ रुटमा सहमति जनाएसँगै नेपालमा अन्तर्राष्ट्रिय उडान थप सहज हुने भएको छ ।

हाल भारतीय आकाश हुँदै काठमाडौं आउने जहाज सिमराबाट मात्र प्रवेश गर्न पाउँथे भने भैरहवाबाट बाहिरिन मात्र पाउँथे । अब भैरहवाबाट पनि नेपाल प्रवेश गर्न पाउने छन् ।

यससँगै भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पनि सहज हुने अपेक्षा छ । सिधा हवाई मार्ग नहुँदा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यी विमानस्थलमा उडान गर्न चासो देखाएका थिएनन् ।


Back_to_top