राइड सेयरिङ कम्पनीलाई ७ दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राइड सेयरिङ सेवा प्रदायकलाई ७ दिन भित्र भाडादर सहितका विवरण बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्रचार गर्दै ७ दिन भित्र राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरूसँग विवरण माग गर्न भनेको हो ।

राइड सेयरिङ कम्पनीले आफूखुसी अस्वाभाविक रुपमा भाडा असुल्ने प्रवृत्ति बढेको भन्दै चौतर्फी गुनासो बढेपछि उद्योगमन्त्री दीपककुमार साहले विभागलाई अनुचित भाडा असुली नियन्त्रणको कदम चाल्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले विभागलाई पठाएको पत्रमा राइड सेयरिङ कम्पनीलाई ७ दिनभित्र भाडा निर्धारण प्रणाली, सेवा शुल्क, कमिसन, सर्ज प्राइसिङ र उपभोक्ता गुनासो सुनुवाइ प्रणालीको विवरण पेस गर्न लगाउन भनिएको छ ।

त्यस्तै, यात्रुले यात्रा सुरू गर्नुअघि नै तिर्नुपर्ने भाडा तथा अतिरिक्त शुल्क स्पष्ट देखिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । मन्त्रालयले यातायात व्यवस्था विभाग र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी भाडा निर्धारण, सेवा संचालन तथा नियमनका विषयमा स्पष्ट कार्यविभाजन सहितको प्रस्ताव पेस गर्न निर्देशन दिएको छ ।

त्यस्तै, अस्वाभाविक भाडा वृद्धिको अनुगमन तथा अध्ययन गर्न, उपभोक्ता शोषण भएको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन विभागलाई निर्देशन दिएको छ ।

साथै, मन्त्रालयले उपभोक्ताका गुनासो दर्ता तथा समाधानका लागि विशेष संयन्त्र स्थापना गर्न १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन र ३० दिनभित्र कार्यान्वयनयोग्य सुधार योजना पेस गर्न निर्देशन दिएको छ ।


Back_to_top