कर्णालीमा राइड सेयरिङ र सेल्फ ड्राइभ सेवाको भाडा ताेकिँदै, यस्तो छ प्रस्तावित दर

काठमाडौं । कर्णाली प्रदेशले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई व्यवस्थित, पारदर्शी र यात्रुमैत्री बनाउन भाडादर निर्धारण प्रक्रिया अघि बढाएको छ ।

सरोकारवाला निकायहरूको मंसिर ३ गते बसेको बैठकले भाडादर प्रस्ताव गरी स्वीकृतिको लागि भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सरकारले ‘कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा नियमन तथा व्यवस्थापन नियमावली, २०८३’ समेत बनाइसकेको छ ।

कर्णाली प्रदेशका १० जिल्लालाई सुगम र दुर्गम दुई वर्गमा विभाजन गरी न्यूनतम भाडादर, प्रति किलोमिटर शुल्क, यात्रु चढाउने तथा ओराल्ने दूरी, पानी परेको अवस्थामा लाग्ने अतिरिक्त शुल्क प्रस्ताव गरिएको छ । हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटलाई दुर्गम वर्गमा राखिएको छ । त्यस्तै, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिमलाई सुगम तथा अर्ध सुगममा राखिएको छ ।

राइड सेयरिङका लागि प्रस्तावित भाडादर अनुसार दुर्गममा दुईपाँग्रे प्रतिदुई किमी ५५ रुपैयाँ र चारपाँग्रेका लागि २०० रुपैयाँ तोकिएको छ । त्यसपछि दुईपाँग्रेले प्रतिकिमी १९.३९ रुपैयाँ र चारपाँग्रेले प्रतिकिमी ८१.१७ रुपैयाँ लिन पाउने छन् । पानी पर्दा तोकिएको भाडादरमा थप २० प्रतिशत भाडा लिन पाउने छन् ।

त्यस्तै, सुगम तथा अर्ध सुगम ५ जिल्लामा सुरुआती भाडादर दुर्गमकै जति छ । २ किमीपछि भने प्रतिकिमी दुईपाँग्रे १६.१६ रुपैयाँ र चारपाँँग्रेमा ६७.५७ रुपैयाँ तिर्नुपर्नेछ ।

सेल्फ ड्राइभ सेवाका सवारीको भाडादर पनि स्पष्ट तोकिएको छ । प्रस्तावित दर अनुसार पहिलो दुर्गम समूहका जिल्लामा १०० देखि १६० सीसीसम्मका मोटरसाइकलको २४ घण्टाको अधिकतम भाडा २ हजार रुपैयाँ र विलम्ब शुल्क प्रतिघण्टा २५० रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तै, १६१ सीसीभन्दा माथिका मोटरसाइकलको दैनिक भाडा ३ हजार ५०० रुपैयाँ र विलम्ब शुल्क प्रतिघण्टा ४०० रुपैयाँ निर्धारण गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै, १ हजार सीसीसम्मका साधारण कारको दैनिक भाडा ६ हजार ५०० रुपैयाँ र विलम्ब शुल्क प्रतिघण्टा ५०० रुपैयाँ प्रस्ताव गरिएको छ । एसयूभी तथा फोर ह्वील ड्राइभ जिपको दैनिक भाडा १२ हजार रुपैयाँ र विलम्ब शुल्क प्रतिघण्टा १ हजार ५०० रुपैयाँ प्रस्ताव गरिएको छ ।

सुगम जिल्लामा १०० देखि १६० सीसीसम्मका मोटरसाइकलको दैनिक भाडा १ हजार २०० रुपैयाँ र विलम्ब शुल्क १५० रुपैयाँ, १६१ सीसीभन्दा माथिका मोटरसाइकलको २ हजार ५०० रुपैयाँ र विलम्ब शुल्क प्रतिघण्टा ३०० रुपैयाँ निर्धारण गर्न प्रस्ताव गरिएको छ ।

साधारण कार तथा ह्याचब्याकको दैनिक भाडा ४ हजार ५०० रुपैयाँ र विलम्ब शुल्क ५०० रुपैयाँ, एसयूभी र लक्जरी जिपको दैनिक भाडा ९ हजार रुपैयाँ र विलम्ब शुल्क १ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

सेल्फ ड्राइभ सेवामा सवारीसाधन चलाउन पाउने दैनिक दूरीको सीमासमेत प्रस्ताव गरिएको छ । दुर्गम जिल्लामा दैनिक २५० किलोमिटर र दोस्रो समूहका जिल्लामा ३०० किलोमिटरसम्म सवारी चलाउन पाइने प्रस्ताव छ ।

उक्त दूरीभन्दा बढी सवारी चलाएमा दुर्गम जिल्लामा प्रतिकिलोमिटर १५ रुपैयाँ र सुगम जिल्लामा प्रतिकिलोमिटर १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रस्तावित दर मन्त्रालयबाट स्वीकृति भएपछि उक्त भाडादर कार्यान्वयनमा आउने छ । कार्यान्वयनमा आएपछि राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा संचालन थप व्यवस्थित हुने विश्वास लिइएको छ ।


Back_to_top