काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा बिक्री गर्दै आएका दुई विद्युतीय एसयूभी एटो-३ र एटो-२ मध्ये कुन बढी सफल मानिएला ? कुल बिक्री र आयातको तथ्यांक हेर्दा एटो-३ अगाडि देखिन्छ ।
बजारमा प्रवेश गरेको समय, बिक्रीको गति र उपभोक्ताको रोजाइलाई आधार मान्ने हो भने एटो-२ ले एटो-३ लाई निकै पछाडि छाड्ने प्रष्ट देखिन्छ ।
सन् २०२२ को अन्त्यतिर नेपाली बजारमा प्रवेश गरेको एटो-३ ले बीवाइडीलाई विद्युतीय एसयूभीको स्थापित ब्राण्ड बनाउन भूमिका खेल्यो । तर, सन् २०२५ को सेप्टेम्बरमा बजारमा आएको एटो-२ ले छोटो समयमै जुन किसिमको लोकप्रियता हासिल गरेको छ, त्यसले बीवाइडीको बजार रणनीतिमै नयाँ मोड ल्याएको देखिन्छ ।
आयात तथ्यांक अनुसार एटो-३ सन् २०२२ मा १० युनिट, २०२३ मा १ हजार ५३२ युनिट, २०२४ मा २ हजार ६८ युनिट, २०२५ मा ६३६ युनिट र सन् २०२६ को पहिलो १० महिनामा २३६ युनिट आयात भएको छ । सबै मिलाउँदा अहिलेसम्म एटो-३ को कुल आयात ४ हजार ४८२ युनिट पुगेको छ ।
यता, सन् २०२५ को सेप्टेम्बरबाट मात्रै नेपालमा बिक्री सुरू भएको एटो-२ को आयात पहिलो वर्षमै १ हजार ७२ युनिट पुगेको थियो । अझ सन् २०२६ को पहिलो १० महिनामै २ हजार ७१२ युनिट आयात भएको छ । यससँगै एटो२ को कुल आयात ३ हजार ७८४ युनिट पुगेको देखिन्छ ।
यी तथ्यांकले दुई मोडल बीचको प्रतिस्पर्धामा एटो-२ कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने स्पष्ट पार्छ । एटो-३ ले आफ्नो सबैभन्दा सफल वर्ष सन् २०२४ मा २ हजार ६८ युनिट आयात गर्दा एटो-२ ले सन् २०२६ को १० महिनामै २ हजार ७१२ युनिटको आँकडा पार गरिसकेको छ ।
अझ रोचक पक्ष के छ भने एटो-२ ले एटो-३ को कुल आयातसँगको दूरी पनि तीव्र गतिमा घटाइरहेको छ । दुई मोडल बीचको कुल आयात अन्तर अहिले ६९८ युनिट मात्रै छ ।
एटो-३ को सफलताका पछाडि अन्तर्राष्ट्रिय बजारमा यसले पाएको चर्चा र नेपाली बजारमा साइमेक्सले अपनाएको मूल्य रणनीति प्रमुख थियो । सन् २०२२ मा करिब ९० लाख रुपैयाँको मूल्यमा सार्वजनिक भएको एटो-३ पछि मोटर पावरमा परिवर्तन र सानो ब्याट्री क्षमताको भेरियन्ट उपलब्ध भएसँगै तुलनात्मक रूपमा सस्तो बन्यो । विशेषगरी सन् २०२३ र २०२४ मा यसले नेपाली ईभी बजारमा उल्लेख्य उपस्थिति बनायो ।

तर, एटो-२ को सफलता फरक आधारमा उभिएको छ । अन्तर्राष्ट्रिय बजारमा एटो-३ जस्तो ठूलो चर्चा नपाए पनि नेपाली उपभोक्ताको आवश्यकता र बजेटसँग मेल खाने यसको डिजाइन, साइज र मूल्यले बजारमा बलियो प्रभाव पार्यो । करिब ४४ लाख रुपैयाँको सुरूवाती मूल्य, १०० किलोवाटको मोटर, २०० एमएमको ग्राउण्ड क्लियरेन्स, आकर्षक बक्सी डिजाइन र उपयोगी प्रविधियुक्त फिचर लिएर बजारमा प्रबेश गरेको कारण यसले सफलता पाउन कुर्नै परेन ।
एटो-२ बजारमा आएपछि एटो३ को आयात ओरालो लाग्नुले पनि उपभोक्ताको रोजाइमा आएको परिवर्तन देखाउँछ । विशेषगरी सन् २०२५ पछि एटो-३ को आयातमा आएको गिरावट र एटो-२ को तीव्र वृद्धिले एउटै ब्राण्डभित्र नयाँ मोडलले पुरानो सफल मोडललाई विस्थापित गर्न थालेको संकेत गर्छ ।
माथिको तथ्य र तथ्यांकले पनि यी दुई मोडल मध्ये कुन सफल भन्ने प्रश्नको जवाफ मूल्यांकनको आधारमा निर्भर गर्छ । कुल आयात र बजारमा बिताएको समयका आधारमा एटो-३ सफल देखियो । तर, छोटो समयमा हासिल गरेको बिक्रीको गति, बजार आकर्षण र उपभोक्ताको रोजाइका आधारमा एटो-२ बढी सफल देखिन्छ ।
यसलाई सामान्य भाषामा भन्दा एटो-३ ले बनाएको बाटोमा एटो-२ तीव्र गतिमा दौडिरहेको छ भन्न सकिन्छ ।

