सुजुकी इग्निस ह्याचव्याक अब ईभीमा, यस्ता छन् फिचर

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी सुजुकीले आफ्नो चर्चित इग्निस नामलाई पुनः बजारमा ल्याउने भएको छ । कम्पनीले इग्निसलाई नयाँ विद्युतीय कारका रूपमा विकास गर्दै सन् २०२७ को दोस्रो क्वाटरमा बजारमा उतार्ने घोषणा गरेको हो ।

नयाँ इग्निस ईभी सन् २०२५ को जापान मोबिलिटी शोमा सार्वजनिक गरिएको ‘भिजन ईस्काई’ कन्सेप्टमा आधारित हुनेछ । यसलाई सुजुकीले नोभेम्बर १६ मा जापानमा सार्वजनिक गरेको थियो ।

नयाँ इग्निस ईभी सुजुकीको ई-भिटारा बनेको एचईएआरटेक्ट-ई प्लेटफर्ममा निर्माण गरिएको हो । यसमा २६ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्याक रहनेछ ।

फ्रन्ट ह्वील ड्राइभ मोटरमा आउने इग्नीस ईभीमा ९१ हर्सपावर प्रदान गर्ने इलेक्ट्रीक मोटर रहने छ । यसको पीकटर्क भने १३३ न्यूटन मिटर रहने छ ।

चार जना यात्रु बस्न मिल्ने गरी तयार गरिएको इग्निस ईभीलाई ५० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेगरी उत्पादन गरिएको छ । एसी चार्जर भने ६ किलोवाटसम्मको सपोर्ट गर्नेछ ।

सुरक्षाका लागि इग्निस ईभीमा अगाडि भेन्टिलेटेड डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ । यसलाई युरोपमा बिक्री थाल्ने योजना बनाएको सुजुकीले नेपाली बजारमा उपलब्ध गराउँछ वा गराउँदैन एकिन जानकारी प्राप्त भएको छैन ।


Back_to_top