काठमाडौं । सन् २०२६ अहिलेसम्मकै सर्वाधिक कार आयात हुने वर्ष बन्ने बाटोमा देखिन्छ । यसअघि सन् २०२१ मा १७ हजार ३४७ युनिट निजी कार आयात भएको थियो । त्यसलाई साढे १० महिनामै उछिन्दै २०२६ सर्वाधिक कार आयात हुने वर्ष बनेको हो ।
सन् २०२६ लागेसँगै कारको आयात निरन्तर बढिरहेको छ । हरेक महिनाजसो आयात वृद्धि भइरहेको आयात तथ्यांकले देखाउँछ । अझ पछिल्ला ४ महिनामा कारको आयात तीव्र गतिमा बढेको हो ।
साउन, भदौ, असोज र कार्तिकमा चाडपर्वमा बिक्री गर्ने प्रयोजनको लागि कारहरू आयात भएका थिए । यी तीन महिनामा प्यासेन्जर कार मात्रै झण्डै १० हजार ५०० युनिट आयात भएका छन् । यसले कारको माग उच्च रहेको देखाउँछ ।
सन् २०२६ को अक्टोबरमा भसर्वाधिक झण्डै ५ हजार कार आयात भएको छ । ईभी र पेट्रोल कार गरी जनवरीमा ९३७, फेब्रुअरीमा ७७१, मार्चमा ११२९, अप्रिलमा ११०२, मेमा २९७७, जुनमा ६२३, जुलाईमा ७८५ युनिट आयात भएको थियो । त्यसपछि झनै रफ्तारमा कार आयात बढेको देखिन्छ ।
अगस्ट महिनामा ११५४ युनिट कार आयात हुँदा सेप्टेम्बरमा ३३८९ युनिट आयात भयो । मध्ये चाडपर्वको समय अक्टोबरमा ४८८७ युनिट कार आयात हुँदा नोभेम्बर १५ तारिखसम्ममा १०३० युनिट आयात भएको देखिन्छ ।
ईभी र आइसीई कति ?
सन् २०२६ को साढे १० महिनामा कुल आयात भएको १८ हजार ७८४ युनिट मध्ये पेट्रोलियम पदार्थबाट चल्ने कार ३ हजार ३७२ युनिट आयात भएको देखिन्छ ।
कुल आयातमा पेट्रोलियम पदार्थबाट चल्ने कारको हिस्सा १७.९५ प्रतिशत मात्रै देखिन्छ । जुन पछिल्ला ३ महिनामा आयात भएको ईभीले गर्दा निकै कम देखिएको हो ।
साढे १० महिनामा १५ हजार ४१२ युनिट ईभी आयात भएको देखियो । जुन कुल प्यासेन्जर कार आयातको ८२.०५ प्रतिशत हो । यसले प्यासेन्जर कारमा ईभीले पूरै बजार डोमिनेट गरेको देखिन्छ ।

